शुक्रबार, साउन २, २०८२

भ्रमण छोट्याएर फर्केलगत्तै सीआईबीले लियो माधव नेपालसँग बयान

 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

vianetvianet

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। ललिता निवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा नेपालसँग बयान लिइएको हो।

प्रहरीले बोलाएपछि सोमबार बेलुका नेता नेपालले सीआईबी पुगेर बयान दिएको बताइएको छ। युरोप भ्रमणमा रहेका नेपाल सोमबार बिहानमात्रै स्वदेश फर्किएका थिए।

सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेपछि यो प्रकरणको छानबिन गरिरहेको सीआईबीलाई नेपाल र अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग बयान लिन सहज भएको हो। सर्वोच्चको आदेश आएको भोलिपल्टै नेता नेपाल भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।

'माधव नेपाल भागेको' टिप्पणीहरु हुन थालेपछि उनी बीचमै फर्किएका हुन्। विमानस्थलमा उनले यसबारे गुनासो पनि  गरेका थिए। उनी युरोपका विभिन्न देशहरू स्वीट्जरल्याण्ड, स्पेन, क्रोएसिया र बेलायतको भ्रमणका लागि साउन २२ गते त्यसतर्फ गएका थिए। प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर उनी भदौ १ गते स्वदेश फर्कने कार्यतालिका थियो। ललिता निवास, सुन प्रकरण लगायत घटनाक्रम विकसित भएपछि नेकपा एसका नेताहरुले अध्यक्ष नेपाललाई भ्रमण छोट्याएर फर्कन सुझाव दिएका थिए।

यो प्रकरणमा जोडिएका अर्का पूर्वप्रम बाबुराम भट्टराईले आफू सीआईबीलाई बयान दिन तयार रहेको सार्वजनिक रुपमै बताइसकेका छन्। सीआईबीले टिप्पणी उठाउने, जग्गा खरिद गर्ने र उक्त जग्गा अपचलनमा कुनै न कुनै किसिमले सहभागी भएकाहरुलाई पक्राउ गरिसकेको छ। नेपाल र भट्टराईलाई भने पक्राउ नगरी बयान लिने सीआईबीको योजना छ।

अहिले ललिता निवास जग्गा प्रकरणमा जोडिएका २० जनालाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने उक्त काण्डमा जोडिएका अन्य व्यक्तिको संलग्नताको बारेमा छानबिन भइरहेको छ।

नेता नेपाल  प्रधानमन्त्री हुँदा बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारसम्बन्धमा मन्त्रिपरिषद्बाट पटक–पटक निर्णय भएका थिए। तिनै निर्णयका आधारमा सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिको नाममा पुगेको थियो। तिनै मन्त्रिपरिषद्का निर्णयमा आधारित भई सीआईबीले उनीसँग बयान लिएको हो।

 

प्रकाशित: Aug 15, 2023| 13:43 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्