बिहीबार, जेठ २८, २०८३

सडक अवरुद्ध हुँदा मनाङमा सामान आपूर्तिमा समस्या

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

मनाङ- मनाङ आउने एक मात्र सडक अवरुद्ध हुँदा सवारी साधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ। 

National life

यहाँको आवतजावत पूर्ण रुपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी बीच बाटोमै अलपत्र परेका छन्। डुम्रे–बुँशीसहर–चामे सडक खण्डअन्तर्गत लमजुङको बेँशीसहर नगरपालिका–६ खरखरेस्थित सडकको ट्रयाक भासिएपछि पर्यटक, कर्मचारी तथा मार्गदर्शकबीच बाटोमा नै रोकिनुपरेको छ। 

कामको सिलसिलामा तल झरेका कर्मचारीले औषधिलगायतका अत्यावश्यक सामग्री लिएर मनाङ आउन नसकेको जिल्ला अस्पतालका प्रमुख रहमत अन्सारीले बताए। उनका अनुसार शुक्रबार साँझ बेँशीसहर आइपुगेको र शनिबार बिहानै मनाङ हिँड्ने योजना रहेकामा वर्षाका कारण सडक अवरुद्ध हुँदा अलपत्र परेका छन्। 

उनले भने, ‘औषधीसहित म कार्यक्षेत्रमा फर्किनुपर्ने हो, तर आधा बाटोमै अलपत्र परेको छु, कार्यक्षेत्रमा पुगिसक्नुपर्ने हो, पहिरो कट्नै सकिने अवस्था छैन, कहिलेसम्मबीचमै रोकिने हो थाहा छैन।’ कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले कार्यालयको कामले प्रदेश मन्त्रालयमा आएकामा फर्किदै गर्दा पहिरोले बाटोमै रोकिएको बताए। 

उनले भने, ‘चालु आर्थिक वर्षको योजनालगायत मनाङको कृषि क्षेत्रमा देखिएको समस्याको विषयमा छलफल तथा समाधानका लागि आएकामा फर्किदै गर्दा वर्षाले बाटोमै बास भएको छ, सडक कहिले खुल्छ भनेर सोध्दै बाटो खुल्ला र हिँडौँला भएको छ।’

Shivam cement

मार्गदर्शक हरिचन राईले पहिराको सास्ती भोग्दै पर्यटकसँगै बेँशीसहर आइपेगको बताए। उनले भने, ‘मनाङको नारफु हुँदै काङ्ला पास गरी मनाङबाट बेँसीसहर फर्किँदा पहिरामा ज्यानको बाजी लगाएर जोखिम पार गरियो, आफू मात्रै भए अलि सहज हुन्थ्यो, पर्यटकलाई पनि बचाएर पार गराउन मुस्किल भयो, बल्लतल्ल बचियो।’ याम सरु हुने बेलामा प्रतिकूल मौसमले मनाङ आउने पर्यटक अहिले दोधारमा परेका उनले बताए। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) का प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४-१५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिए। उनले भने, ‘आउने बाटोमा समस्या भए पनि आइसकेका केही पर्यटक थोराङ्ला पासतर्फ गएका छन्, आजै मात्र मनाङबाट १४ पर्यटक थोराङ्लापासतर्फ गएका छन्।’

डुम्रे–बेशीसहर–चामे सडक आयोजना कार्यालयका सब इञ्जीनीयर सुमन अधिकारीले सडक सञ्जालबाट विच्छेद भएको विकट क्षेत्र मनाङ प्रवेश गर्ने मार्गको मर्मतकार्य भइरहेको बताए। उनले भने, ‘पानी परिरहेको छ, तर पनि काम गरिरहेका छौँ, सकेसम्म आज साँझसम्म सडक खुलाउने प्रयास गरिरहेका छौँं।’

प्रकाशित: Aug 14, 2023| 22:02 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्