काठमाडौं- सुनसरीको धरान डेंगु संक्रमणको हटस्पट बनेको छ। धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार बिहीबार मात्रै एक हजार ७७६ जनाका डेंगुको संक्रमण पुष्टि भएका छन्।
सुनसरीमा डेंगु संक्रमितको संख्या करिब १० हजार पुगेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिले धरानलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ लागु गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ।
सुनसरीका १२ वटै स्थानीय तहहरुमा डेंगु संक्रमितको संख्या ८ हजार ४९२ पुगेको छ भने नौ जनाको डेंगु संक्रमणकै कारण मृत्यु भएको छ। धरान उपमहानगरको २० वटै वडामा संक्रमितको संख्या बढेको भन्दै जनस्वास्थ्यको आपतकालीन अवस्था (पब्लिक हेल्थ इमर्जेन्सी) घोषणका लागि गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशलाई अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको समितिको बैठकमा सरोकारवाला संघसंस्थाका प्रतिनिधि, सांसद, धरान उपमहानगरका स्वास्थ्य महाशाखा अन्तर्गतका पदाधिकारी र जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।
समितिले डेंगीविरुद्ध तीव्र अभियान चलाउन पनि गृह मन्त्रालयमा सिफारिस गरेको छ। धरान उपमहानगरपालिकामा मात्र साउन ११ गतेसम्ममा ३ हजार ७ सय ३१ जनाको जाँच गर्दा २ हजार १ सय ९९ जनामा डेंगी संक्रमित भएको पाइएको थियो। त्यसको दुई दिनपछि साउन १३ गते १९४ जना नयाँ बिरामी थपिए। साउन १४ गते ६१ जना नयाँ बिरामी थपिँदा केही घटेजस्तो देखिए पनि एकसातामा ७ सय ९९ नयाँ बिरामी थपिएका थिए । करिब आठ सय जना थपिएको साता पनि नबित्दै बिहीबारसम्ममा ६ हजार २ सय २८ जना डेंगीका नयाँ बिरामी देखिएका छन्।
डेंगु संक्रमण नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले नि:शुल्क जाँच र औषधि वितरण गरिरहेको छ। जनस्वास्थ्यविद्हरुले पनि धरानलाई तत्काल आपत्कालीन स्वास्थ्य संकट घोषणा गरेर प्रभावकारीरुपमा डेंगीविरुद्ध अभियान चाल्नु पर्नेमा सुझाव दिँदै आएका थिए।
डेंगी महामारी बढेपछि नियन्त्रण गर्न धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले साउन २८ गते बिहान ७ बजे धरानका सबै ठाउमा एकसाथ सर्च एण्ड डिस्ट्रोय अभियान सुरु गर्न आह्वान गरेका छन् ।