मंगलबार, फागुन २६, २०८२

बिहानदेखि रातिसम्मै पढाएर परिचय फेरेको डहु मावि

विद्यार्थीलाई हरेक क्रियाकलापमा सहभागी गराउँदै आधुनिक प्रविधिमार्फत पठनपाठन गराइरहेको यो विद्यालयले विद्यार्थी केन्द्रित नयाँनयाँ क्रियाकलाप पनि सञ्चालन गरिरहेको हुन्छ।
 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

मन्थली- सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन। हरियो दुबोसहितको फूल बगैँचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ। सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्सी। विद्यालय समय बाहेक बिहान, बेलुका र राति पनि विद्यालय परिसरमै पठनपाठन हुने। यो दुर्गम जिल्ला रामेछापको पश्चिमी क्षेत्रमा पर्ने बेथानस्थित डहु माविको परिचय हो।

National life

विद्यार्थीलाई हरेक क्रियाकलापमा सहभागी गराउँदै आधुनिक प्रविधिमार्फत पठनपाठन गराइरहेको यस विद्यालयले विद्यार्थी केन्द्रित नयाँनयाँ क्रियाकलाप पनि सञ्चालन गरिरहेको हुन्छ।

अहिले प्रत्येक कक्षाकोठामा सिसी क्यामेरा जडान गरिएको र नियमित विद्यार्थीको निगरानी थालिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर लामाले बताए। उपद्रो गर्ने विद्यार्थीलाई शिक्षकले लौरो देखाएर तह लगाउनुपर्ने अवस्थाको अन्त्य भएको जनाउँदै उनले भित्तामा जडान सिसी क्यामराले देखेर उनीहरु आफैँ सचेत हुन थालेका बताए।

“कूल ४६ कोठामध्ये ४२ मा जोडिएका सिसी क्यामेराले निरन्तर विद्यार्थी तथा शिक्षकका गतिविधि देखाइरहेका हुन्छन्”, प्रअ लामाले भने, “जिल्लामा सबै कक्षाकोठामा सिसी क्यामेरा भएको यही एउटा मात्र मावि हो।”

प्रअ लामाले सार्वजनिक बिदाका दिनमा पनि आफ्नो कार्यकक्षमा बसेर कक्षामा पसेका शिक्षक र विद्यार्थीको गतिविधि नियालिरहेका हुन्छन्। सार्वजनिक बिदाका दिन विद्यालय बिदा नहुने भन्दै सबै बिद्यार्थी अनिवार्य उपस्थित हुने उनले बताए।

Laxmi sunrise bank
kumari

हरेक वर्ष एसइई परीक्षाको तयारीका लागि यहाँ अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराएर विद्यालयले अध्यापन गराउने गरेको प्रअ लामाले जानकारी दिए। यस विद्यालयको पठनपाठन जिल्लाका अन्य सामुदायिक विद्यालयभन्दा अब्बल रहेको उनको भनाइ छ। गत वर्षको एसईई नतिजामा यस विद्यालयका दुई जनाले चार जीपीए ल्याएका थिए। जुन जिल्लाभरी चर्चाको विषय बनेको थियो।

गत वर्ष वर्ष देशभरिमा ४२ जनाले मात्र चार जीपीए ल्याएका थिए। सिसी क्यामेरा राखेपछि विद्यार्थी अनुशासित हुनुका साथै नियमित उपस्थित हुने गरेका छन्। “मलाई यो प्रविधि यसरी प्रभावकारी हुन्छ भन्ने लागेको भए धेरै वर्षअघि ऋण गरेरै भए पनि जडान गरिसक्थेँ”, प्रअ लामाले भने, “यहाँका विद्यार्थी अनुशासित नै छन्। सिसी क्यामेराले थप सहयोग गरिरहेको छ।”

कम्प्युटरको माध्यमबाट उनले एकैपटक विद्यालयका ४२ कक्षाकोठा नियाल्छन्। “सुरुका दिनमा निगरानी गर्ने मात्र नभई शिक्षक र विद्यार्थीका कमीकमजोरी देखिए सोधपुछ गर्ने गरिएको थियो”, उनले भने, “अहिले त्यसो गर्न भने छोडिएको छ। सधैँ त्यसो गर्दा मानसिक अवस्थामा असर पुग्ला कि भनेर कडाइ नगरिएको हो।”

विद्यालयमा पुगेका पाहुना तथा अनुगमनकर्तालाई प्रविधिकै माध्यमबाट कक्षाकोठाको वातावरण बुझाउने गरिएको उनले बताए। प्रअ लामाका अनुसार विद्यालयमा कूल चार सय विद्यार्थी छन्। “अब चार कोठामा सिसी क्यामेरा जडान गर्न बाँकी छ”, उनले भने, “निर्माणको चरणमा भएकाले त्यसमा जडान गरेका छैनौँ।” डहु माविमा ७० भन्दाबढी कम्प्युटरको व्यवस्था गरी इन्टरनेटसमेत सुविधा उपलब्ध गराइएको प्रअ लामाको भनाइ थियो। “इन्टरनेटबाट सम्बन्धित विषयका पुस्तक तथा जानकारी खोजेर अध्ययन अध्यापन भइरहेको छ”, उनले भने।

जिल्ला शिक्षा तथा समन्वय इकाइ रामेछापका प्रमुख भरत भट्टराईका अनुसार पठनपाठनलाई थप प्रभावकारी बनाउन छ वटा प्रोजेक्टर जडान गरिएका छन्। कक्षा ११ र १२ मा स्मार्ट बोर्डको व्यवस्था गरिएको छ भने कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरिङको पठनपाठन हुने गरेको छ।

डहु मावि जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा पहिचान बनाउन सफल भएको भन्दै उनले यहाँ अन्य जिल्लाबाट पनि विद्यालयको पठनपाठन शैली अवलोकन भ्रमणका लागि समूहमा विद्यार्थी तथा शिक्षक आउने गरेका बताए। यस विद्यालयको अनुशरण अन्य विद्यालयले पनि गर्नसके जिल्लामा शैक्षिक गुणस्तर वृद्धि हुने उनको भनाइ थियो।

प्रकाशित: Aug 11, 2023| 21:41 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्