आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुन तस्करीबारे संसद्‍मा गृहमन्त्रीको जवाफ- दोषी जोसुकै भए पनि छुट्दैन

सुन तस्करीबारे संसद्‍मा गृहमन्त्रीको जवाफ- दोषी जोसुकै भए पनि छुट्दैन

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानबाट जोसुकै दोषी देखिए पनि नछुट्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा सभामुखबाट समय लिएर बोल्दै उनले यो प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले भने, 'हामी अहिले अनुसन्धानको प्रक्रियामा छौं, हामी अनुसन्धानले स्वच्छ र निष्पक्ष ढंगले तथ्य र प्रमाणको आधारमा अन्तिम निष्कर्षमा पुर्‍याउने पक्षमा प्रहरी प्रशासनलाई स्ट्यान्डबाई राखेका छौं। केही सांसदले गृहमन्त्रीको टेबलमा भएको फाइलमा किन कारबाही भएन भनेर प्रश्‍न गर्नुभएको छ। पहिला-पहिला त्यसो गरिन्थ्यो र? सीआईबीकोमा भएको फाइल मेरोमा ल्याउ र अनि अघि बढाउ भन्‍ने गरिन्थ्यो र? हामी त कानुनले तोकेको निकायलाई अनुसन्धान गर्न दिएर काम अघि बढाउँछौं। हामी माओवादी वा कुनै पार्टी होस्, अनुसन्धानले दोषी देखाउँछ भने कोही छुट्‍नेवाला छैन।'

भ्रष्टाचार, दण्डहिनता, कालोबजारी, किर्तेले गर्दा देशलाई राजनीतिक परिवर्तनपछि पनि आमूल परिवर्तन गर्न नसकेको र समृद्धिलाई फड्कोमा पुर्‍याउन नसकेको कुरा पुष्टि भएको उनले बताए। श्रेष्ठले भने, 'त्यसकारण हामीले सुशासन पहिलो शर्त हो। सुशासन, समृद्धि र सामाजिक न्याय अहिलेको केन्द्रीय कार्यभार हो। यससँगसँगै हाम्रो अर्को कार्यभार भनेको शान्ति प्रक्रियालाई पूर्णता दिएर दीगो शान्ति स्थापना गर्नु र पीडितलाई न्याय दिनु हो। सरकार यही कार्यभारलाई पूरा गर्न अघि बढ्दैछ।'

सरकारले सुराकी खर्चलाई नियन्त्रण गरेको, नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई छानबिन गर्ने र कानुनको दायरामा ल्याउने काम गरेको, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कुरालाई अनुसन्धान गरेर दायरामा ल्याएको, सामन्तवादी अवशेषको रुपमा रहेको मिटरब्याजी समस्यालाई समाधान गर्न मिटरब्याजका निम्ति कानुन ल्याएको र समिति बनाएर अभियान चलाइरहेको उनले बताए। उनले भने, 'हामीले सुशासन र सामाजिक न्यायका निम्ति काम गरिरहेका छौं। यसो गर्दा आम रुपमा माननीय सांसद र जनताले पनि सकारात्मक रुपमा लिएर समर्थन गरिरहेका छन्, त्यसप्रति आभार व्यक्त गर्न चाहन्छौं।'

हामीलाई प्रश्‍न छ, नक्कली भुटानी शरणार्थी प्रकरणमा त्यहाँ भन्दा माथि किन नगएको भन्‍ने छ? हाम्रो स्पष्ट निर्देशन छ- अध्ययन, अनुसन्धान र तथ्य प्रमाणले जहाँसम्म जानु भन्छ, त्यहाँ सम्म जाने र निरपेक्ष भएर दोषीलाई कारबाही गर्ने भन्‍ने। त्यसमा कतिलाई लागेको होला- फलानो पनि संगल्‍न हुनुपर्ने हो, त्यहाँ कारबाही किन भएन। हामीले तथ्य प्रमाणले जहाँसम्म जानु भन्छ, त्यहाँसम्म पुगेर कारबाही गरिरहेको छ।

 

प्रकाशित: Aug 08, 2023| 18:13 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्