मंगलबार, फागुन २६, २०८२

तनहुँमा 'लार्भा खोजौँ र नष्ट गरौँ' अभियान

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

डुम्रे- वर्षायामसँगै देशैभर डेङ्गुको सङ्क्रमण फैलिन थालेको छ। तनहुँमा डेङ्गु ज्वरोको प्रकोपका साथै बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्ने क्रममा छ।

National life

डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेङ्गुका ४४ बिरामी फेला परेका छन्। डेङ्गुका कारण विगत एक महिनामा एकजनाको मृत्यु भएको छ। जिल्लामा डेङ्गु फैलिँदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको छ।

लामखुट्टेले फुल पार्ने स्थान ‘खोजौँ र नष्ट गरौँ’ नारासहित जिल्लाका सबै पालिकामा अभियान सञ्चालन गरिएको छ। व्यास नगरपालिकामा अभियान सञ्चालन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए। उनले  तत्काल थाहा नहुने र धेरै अङ्गप्रत्याङ्गमा असर गरेपछि मात्रै थाहा हुने भएकाले चेतना फैलाउन अभियान सञ्चालन गरिएको बताए।

सचेतना कार्यक्रम प्रभावकारी बनाउन विद्यालयमार्फत गर्दा प्रभावकारी हुने भएकाले विद्यालयमासमेत अभियान सञ्चालन गरिने न्यौपानेले बताए। उनले भने, ‘लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै विद्यालयमा अभियान सञ्चालन गर्ने योजना बनाएका छौँ।’

नगर उपप्रमुख इन्दिरा दरै नेतृत्वको टोलीले बजार क्षेत्रमा पानी जम्ने स्थान नष्ट गर्ने कार्य थालिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्न घरदैलो अभियान भइरहेको जानकारी दिए।

Laxmi sunrise bank
kumari

नगरपालिकाले लामखुट्टेको वासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीलाई अनुरोध गरेको छ। नगरपालिकाको सहरी क्षेत्र वडा नं २, ३ र ४ मा अभियान सञ्चालन गरिएको छ। डेङ्गुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकामा कार्यरत इञ्जीनीयर कमलप्रसाद शर्माको निधन भएको थियो। व्यास नगरपालिका–१० का शर्माको गत असार १६ गते मृत्यु भएको हो। उनको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो।

वर्षायाम सुरु भएसँगै लामखुट्टे फैलिने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य कार्यालय तनहुँले आग्रह गरेको छ। बिहान, दिउँसो राति जुनसुकै बेला झुल टाँगेर सुत्ने, पूरा बाहुला भएका र पूरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टेको वासस्थान मास्न पानी जम्न नदिने, घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउन स्वास्थ्य प्रमुख शङ्करबाबु अधिकारीले आग्रह गरे।

प्रकाशित: Aug 07, 2023| 20:21 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्