आइतबार, वैशाख २७, २०८३

तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

तनहुँ- दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। तीन दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ।

National life

गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी  दिए।

यसअघि दिनमा तीन/चार जना आँखा पाक्ने समस्याका बिरामी आउने गरे पनि तीन दिनदेखि सङ्ख्या बढेको उनले बताए। आँखा उपचारमा आउने बिरामीमध्ये झन्डै ५० प्रतिशत आँखा पाक्ने रोगका सङ्क्रमित हुने गरेको उनले जानकारी दिए।

मुख्य गरेर एडिनो भाइरसका कारण आँखा पाक्ने प्रकोप बढेको पाइएको छ। उनले भने, “कतिपय व्याक्टेरिया र धुलोधुवाँका कारण पनि यस किसिमको समस्या हुने गरेको छ।” सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठयारो हुने यस रोगको मुख्य लक्षण भएको चिकित्सकहरुले बताएका छन्।

एक हप्तादेखि बढीमा दुई हप्ताभित्र यो रोग निको हुन्छ। उनले भने, “महामारीअन्तर्गत सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ, सतर्कता अपनाउन जरुरी हुन्छ।”

उपचारमा आउने बिरामीको लक्षणका आधारमा औषधि दिई आराम गर्न बिरामीलाई सल्लाह दिइएको नेत्र सहायक चौधरीले बताए। चिसो बरफले आँखा सेक्ने, घाममा नहिँड्ने, भीडभाडमा नजाने र हिँड्डुल गर्नुपरेमा कालो चश्मा लगाएर हिँड्नेलगायतका सुझाव दिइएको छ। आँखा पाकेका बिरामीको आँशुबाट यो रोग सर्ने भएकाले घरपरिवारका अन्य सदस्यले बिरामीले प्रयोग गर्ने रुमाल प्रयोग नगर्ने, साबुन पानीले समय समयमा हात धोएर सतर्कता अपनाउन चिकित्सकले बताएका छन्।

दुई विद्यालय बन्द  
त्यसैगरी आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ। शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो।

खैरेनीटार माध्यमिक विद्यालय साउन आजदेखि यही साउन २४ गतेसम्म बन्द गर्ने निर्णय गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार वर्षे बिदाबाट कट्टा गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय भएअनुरुप बन्द गरिएको सो विद्यालयले जनाएको छ।

त्यसैगरी पञ्चमुनि माध्यमिक विद्यालयले साउन १९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। साउन २४ गते विद्यालय संचालन गर्ने कि नगर्ने विषयमा संङ्क्रमण नरोकिए पुनः सूचना जारी गरी विद्यालय बन्द गर्न सकिने सो विद्यालयले जनाएको छ। रासस

प्रकाशित: Aug 07, 2023| 21:21 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्