शुक्रबार, वैशाख २६, २०८२

बच्चालाई दूध खुवाउन किन हिचकिचाहट आमालाई ?

विज्ञहरुका अनुसार स्तनपान गराउँदा आमाको पाँच सय क्यालोरी खर्च हुन्छ। सुत्केरी अवस्थामा मोटाउने समस्या यसले नियन्त्रण गर्छ।
 |  मंगलबार, साउन २३, २०८०
nespernesper

नारायण अधिकारी

नारायण अधिकारी

मंगलबार, साउन २३, २०८०

vianetvianet

आमाको सुन्दरता बिग्रने गलत धारणाका कारण सहरिया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन्। एक तथ्यांकले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ। स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार बच्चा जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन्।

triton college

माध्यमिक शिक्षा अध्ययन गरेका ५३ प्रतिशत, अशिक्षितले ५९ प्रतिशत र आधारभूत शिक्षा लिएका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन्। आर्थिक हिसाबले उच्च आय भएकाले ४४ प्रतिशत र न्यून आय भएकाले ६४ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने मध्यम वर्गका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन्। यसैगरी प्रदेशअनुसार सुदूरपश्चिममा ६ महिनासम्म पूर्ण स्तनपान गराउने ७४ प्रतिशत छन् भने लुम्बिनीमा ३६ र बागमतीमा ४३ प्रतिशतमात्रै छन्। सोअनुसार सहरी क्षेत्रका पूर्ण स्तनपान गराउने आमाहरुको संख्या कम छ।

महाशाखाको तथ्यांकमा नेपालमा २२ प्रतिशतले दूधदानीबाट दूध खुवाउने गरेकामा बागमती प्रदेशमा ४३ प्रतिशतले दूधदानी प्रयोग गर्छन् भने कर्णालीमा ११ प्रतिशतले मात्रै। यसरी दूधदानीबाट दूध खुवाउनेमा उच्च शिक्षित ४९ प्रतिशत छन् भने अशिक्षित १२ प्रतिशतमात्रै छन्। यसमा न्यून आय भएका ११ प्रतिशत र उच्च आर्थिक अवस्था भएका ४६ प्रतिशत छन्।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ ओम पाठकले सहरिया, धनी र उच्च आर्थिक अवस्था भएकाहरुमा स्तनपान गराउनेको संख्या कम भएको बताए। बाल स्वास्थ्यका लागि आमाको दूध अमृतसरह हुने भन्दै उनले अन्य विकल्पको खोजी गर्नुभन्दा आमाको दूध नै खुवाउनुपर्नेमा जोड दिए।

सहरमा आमाले सामाजिक सञ्जालको पहुँचका कारण स्तनपानबाट हुने फाइदाभन्दा नकारात्मक विषयलाई भ्रमको रुपमा लिएर कतिपय आमाले स्तनपान नगराउने गरेको पाठकको भनाइ छ। पूर्ण रूपमा आमाको दूध खाने बच्चाको दिमाख तीक्ष्ण हुने र आमा तथा बच्चाको ममता स्तनपानबाटै बढ्नेमा उनले जोड दिए।

National life insurance

बच्चाले स्तनपान गरेमा मात्रै आमामा दूध आउने गर्छ। स्तनपान नियमित गराएर आमाको दूध बढाउनुपर्ने हुन्छ। आमामा नकारात्मक चिन्तनको विकास भएमा दूधमा कमी आउने पाठकले बताए। उनले भने, 'आमा तनावमुक्त हुनुपर्छ।' सहरका आमाले शिशुलाई छोडेर काममा जानुपर्ने भएकाले पनि स्तनपानमा कमी आउँछ, यद्यपि आमाले निचोरेर पनि दूध खुवाउन सकिने उनको सुझाव छ। कोठाको तापक्रममा समेत आमाको दूध ६ घण्टा राख्न सकिने भन्दै उनले फ्रिजमा तापक्रम मिलाएर २४ घण्टासम्म राख्न सकिने सुझाव दिए।

बजारमा आमाको दूधको सट्टामा विभिन्न खालका खाना आउने भए पनि आमाको दूधमा पाइने पोषण अहिलेसम्म कहीँ नबनेको पाठकको भनाइ छ। आमाको पूर्ण स्तनपान गरेका बालबालिकामा रोगसँग लड्ने क्षमता बढी हुन्छ।

चितवन मेडिकल कलेजका स्त्री तथा प्रसूति रोग विशेषज्ञ वसन्त शर्माले बच्चालाई नियमित स्तनपान गराउँदा आमाको स्तन बिग्रिने वा खराबी नआउने बताए। स्तनपान गराउँदैमा स्तन बिग्रिन्छ भन्ने कतै नलेखिएको उल्लेख गर्दै उनले भने, ‘स्तनपान नगराउने आमाहरुलाई, क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम हुन्छ।’

स्तनपानले आमा र बच्चाबीच सामिप्यता बढ्ने उल्लेख गर्दै शर्माले भने, ‘एक दिनभरिमा स्तनपान गराउँदा आमाको पाँच सय क्यालोरी खर्च हुन्छ। सुत्केरी अवस्थामा मोटाउने समस्या यसले नियन्त्रण गर्छ।’ नियमित स्तनपान गराउँदा नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगको जोखिम कम भएर जाने उनले बताए। अनुसन्धानले स्तनपान नगराउनेको तुलनामा नियमित गराउनेमा नसर्ने रोगको जोखिम कम देखिएको उनको भनाइ छ।

स्तनपानले आमालाई क्यान्सर रोगको जोखिम घटाउन सहयोग पुर्‍याउँछ। शर्माले थपे, ‘मुख्यगरी स्तन क्यान्सर र डिम्बासयको क्यान्सरको जोखिम कम हुन्छ।’ स्तनपानले परिवारिक खर्च पनि कम हुन्छ भन्दै उनले आमाको दूध नखुवाई बाहिरबाट दूध, ल्याक्टोजिनजस्ता वस्तु खरिदले झन् आर्थिक भार बढ्ने बताए।

सम्बद्ध चिकित्सकका अनुसार सामान्यतया दिउँसो दुई दुई घण्टामा स्तनपान गराउनु राम्रो र रातिको समयमा पनि दुई पटक स्तनपान गराउँदा राम्रो हुन्छ। पहिलो ६ महिनासम्म अनिवार्य रुपमा र त्यसपछिको दुई वर्षसम्म पनि स्तनपान गराउँदा राम्रो हुने विज्ञको सुझाव छ।  -रासस

प्रकाशित: Aug 08, 2023| 07:22 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्