मंगलबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ७१८ थरी तरकारी र फलफूलको नमुना परीक्षणः केरामा विषादीको मात्रा दोब्बर 

७१८ थरी तरकारी र फलफूलको नमुना परीक्षणः केरामा विषादीको मात्रा दोब्बर 

इथालिन र क्याल्सियम कार्बोनेटजस्ता औषधी राखेर पहेंलपुर बनाइएका केरा खाए पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको दुख्नेजस्ता गम्भीर असर देखिन सक्ने चिकित्सकको चेतावनी।
 |  शुक्रबार, साउन १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

vianetvianet

भरतपुर– कृषि ज्ञान केन्द्रले चितवनले आव २०७९/८० मा ७१८ थरी तरकारी र फलफूलको नमुना परीक्षण गर्दा केरामा सबैभन्दा बढी विषादी भेटिएको जनाएको छ। चितवन केरा उत्पादनका लागि पनि प्रख्यात छ। 

कृषि ज्ञान केन्द्र चितवनले तोकिएका तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिंखडाका अनुसार आव २०७९÷८० मा केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ।

चालू आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामै भेटिएको उनले बताए। केरा पकाउन प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।

प्राविधिक सहायक सिंखडाका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी  प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आए त्यो केरा नष्ट गरिन्छ। ३५ प्रतिशतभन्दा बढी रोकावट आए त्यस्तो केरालाई क्वारेन्टाइनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ।

चितवनमा प्रायः गरेर केरालाई क्वारेन्टाइनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाको भनाइ छ। ३५ प्रतिशतभन्दा कम रोकावट आए मात्र केरा खानयोग्य हुन्छ।

अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने फल हो। तर कहिलेकाहीँ केरा स्वास्थ्यका लागि हानिकारक पनि सावित हुन सक्छ। यसमा बढी मात्रामा रसायन र विषादी प्रयोग भए  स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चिकित्सक बताउँछन्।

भरतपुर अस्पतालका डा. गोविन्द कँडेलले धेरै परिमाणमा इथालिन र क्याल्सियम कार्बोनेटजस्ता औषधी प्रयोग गरेर पकाइएको केरा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए। यस्तो केरा खाए पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको धेरै दुख्नेजस्ता गम्भीर असर देखिन सक्ने उनले जानकारी दिए।

गर्भवतीलाई यस्तो केरा खुवाइए पेटमा रहेको बच्चालाई समेत असर गर्न सक्छ। कृषि विज्ञका अनुसार केरामा रसायन हालेर पकाइएको छ कि छैन भनेर चिन्न केही कुरामा ध्यान दिनुपर्छ। कार्बोहाइड्रेड तथा अन्य रसायन प्रयोग गरिएको छ भने गन्ध फरक हुन्छ।

आकार हेरेर पनि केरामा रसायन मिसाएको छ कि छैन पत्ता लगाउन सकिन्छ। केरालाई विषादीरहितभन्दा पनि विषादीको प्रभाव कम गर्न केरा किनेर ल्याएको एक–दुई दिनपछि मात्र प्रयोग गर्नु उपयोगी हुने चिकित्सक बताउँछन्। खानुअघि एक घन्टा पानीमा डुबाएर राखियो भने पनि त्यसमा भएको रसायनको मात्रा कम भएर जान्छ।–रासस

प्रकाशित: Aug 04, 2023| 12:57 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्