शुक्रबार, साउन २३, २०८२

डेंगु संक्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

 |  मंगलबार, साउन १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

vianetvianet

काठमाडौं- डेंगु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ। तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ। सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेंगुको सङ्क्रमण देखिएको छ।

उनले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो। यही साउन १० गते चार हजार छ सय १९ जनामा देखिएको सङ्क्रमण त्यसपछिको पाँच दिनमा त्यो सङ्ख्या बढेर पाँच हजार छ सय ८८ मा पुगेको छ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ।

यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा तीन हजार आठ सय २१, बागमती प्रदेशमा नौ सय ६२, गण्डकी प्रदेशमा तीन सय ५७, सुदूरपश्चिम प्रदेशमा तीन सय २५, लुम्बिनी प्रदेशमा एक सय ७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा सङ्क्रमण देखिएको छ।

Metro Mart

१० जिल्लामा बढी सङ्क्रमण
नयाँ देखिएका बिरामीमध्ये चार हजार नौ सय ३९ (८७ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन्। सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६, धादिङ छ सय ५५, कास्की दुई सय आठ, दार्चुला एक सय ९१, काठमाडौँ ९६, सङ्खुवासभा ७५ जना, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेंगुका बिरामी भेटिएका छन्।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ। पुसयता डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ। अहिलेसम्म डेंगु सङ्क्रमण ७० जिल्लामा पुगेको छ।
 

प्रकाशित: Aug 01, 2023| 09:22 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्