मंगलबार, फागुन २६, २०८२

जुम्लामा जथाभावी औषधि पसल सञ्चालनमा

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

जुम्ला- सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधि पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सदरमुकामका आठ मेडिकलमा छापा हानेको बताए।

National life

उक्त मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएको प्रजिअ घिमिरेले जानकारी दिए। डाक्टरको सिफारिसविनै जथाभावी औषधि वितरण गर्दा बिरामीको ज्यानै जानसक्ने जोखिम हुने भएकाले कानुनी प्रक्रिया पूरा गरी मेडिकल सञ्चालन गर्न निर्देशन दिइएको छ।

यहाँका कर्णाली मेडिकल हल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको शिव मेडिकल हल, रावत मेडिकल हल, ओम मनिष पोलिक्लिनिक तथा रेफरल सेन्टर, चन्दननाथ औषधि पसल, बुढ्थापा स्वास्थ्य क्लिनिक, लक्ष्मी क्लिनिक र रामारोशन दाँत उपचार केन्द्रमा जिल्लास्तरीय सरोकारवालाको टोलीले अनुगमन गरेको प्रजिअ घिमिरेले बताए।

दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसलले भारतीय औषधिसमेत बिक्री गर्ने गरेको जनगुनासो आएपछि पहिलो पटक सदरमुकामका मेडिकलमा अनुगमन गरिएको छ। स्थानीय तहमा सञ्चालन भएका सबै मेडिकलमा समेत अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले औषधि पसलको नियमित अनुगमन गर्न आवश्यक रहेको जानकारी दिए। सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अवैध औषधि पसल खोलेका छन्।

Laxmi sunrise bank
kumari

औषधि पसलले गर्भपतन सेवादेखि खोप सेवासमेत अनुमतिविनै चलाउँदा व्यक्तिको ज्यानै जाने जोखिमसमेत हुने भएकाले प्रशासनले विशेष प्रथामिकतामा राखेर काम गर्नुपर्ने नागरिक समाजका अध्यक्ष महतको भनाइ छ। सदरमुकाममा झन्डै ३२ मेडिकल सञ्चालनमा छन्। सोमध्ये १५ मेडिकल अनुमति नलिइ सञ्चालनमा आएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।    -रासस

प्रकाशित: Jul 31, 2023| 21:21 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्