पछिल्लो समय युवा पुस्ताको आकर्षण अनलाइन गेमिङ हुन थालेको छ। यो एक मनोरञ्जनका लागि मात्र नभएर लतको रुपमा विकास भएर महामारीको रुप लिइरहेको छ। केही सेलिब्रेटी कलाकार तथा क्रिकेटरहरु नै अनलाइन जुवा खेलाउने काममा संलग्न हुने गरेका उदाहरणहरु थुप्रै छन्। यहाँसम्म कि कैयौं पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को जर्सीमा नै अनलाइन जुवाको विज्ञापन देखिन्छ।
सेलिब्रेटीहरु तथा क्रिकेटरहरुले यस्ता प्रचार गर्न थालेपछि अनलाइन गेमिङको लोकप्रियता बढ्दै गएको पाइन्छ। सामाजिक सञ्जालहरुमा पनि यसको प्रचार भइरहेको हुन्छ। जसमा 'घरमै बसेर लाखौं, करोडौं रकम कमाउन सकिन्छ' भन्नेसहितका प्रचारहरु सामाजिक सञ्जालमा आउने गरेका छन्। यद्यपि यसको उद्देश्य उनीहरुको प्रचारभन्दा पनि 'ठगी' मार्फत पैसा कमाउने उद्देश्य रहेको हुन्छ।
सामाजिक सञ्जालमा विभिन्न प्रचार गरेर ग्राहकबाट नै लाखौं रकम असुल्ने र पैसाको कारोबार हुन थालेपछि युवाहरुमा पनि अनलाइन जुवाको लत बस्ने गरेको छ। मानिसको हात-हातमा मोबाइल हुने र अनलाइनको सहज पहुँच हुने भएकोले पनि अनलाइन गेमिङको लोकप्रियता बढ्दै गएको पाइन्छ। सुरुसुरुमा अनलाइन जुवामा जोडिएकाहरुले पैसा कमाउन सक्ने भए पनि पैसा आउने लोभले गर्दा उनीहरुमा लत बस्ने गर्छ।
अनलाइन जुवाको लत बस्दै गएपछि भने उनीहरुले पैसा गुमाउने क्रम सुरु हुन्छ। कैयौं युवाहरु धेरै पैसा जित्ने लोभका कारण यसमा फस्ने गरेका छन्। जसका कारण एकातिर उनीहरु आर्थिक समस्यामा गाँजिन्छन् भने अर्कोतिर मानसिक रुपमा तनाव बढ्ने हुन्छ। अनलाइन जुवामा पैसा कमाउने लोभले लगातार पैसा गुमाउँदा मानिसहरुले आत्महत्या गर्नेसम्मका घटनाहरु हुने गरेका छन्।
इन्टरनेट लिंक, वेबसाइट तथा मोबाइल एपका माध्यमबाट पैसा दाउमा लगाइन्छ भने त्यसलाई अनलाइन जुवा भनिन्छ। यसलाई पोकर, ब्ल्याकज्याक, स्लट मसिनलगायतका विभिन्न प्रकारका सट्टेबाजीहरु समावेश हुन्छन्। नयाँ प्रयोगकर्ताहरुलाई लत बसाउनका लागि सुरु-सुरुमा नि:शुल्क गेम खेलाउने र पैसा जितेको भनेर पठाउने गरिन्छ। जब अनलाइन जुवा खेलाउने कम्पनी अथवा व्यक्तिले दिएको नि:शुल्क अफर सकिन्छ, त्यहाँसम्म मानिसको लत बसिसकेको हुन्छ र उसले आफैं पैसा लगाउने गर्छ।
डिजिटल एक्सपर्टहरुका अनुसार पछिल्लो युवा पुस्ताले हरेक कुरा अनलाइनमा नै खोजी गर्ने भएका कारण उसले पराम्परागत जुवा भन्दा पनि अनलाइन जुवामा नै बढी आकर्षित हुने गर्छन्। जसरी उनीहरु डिजिटल दुनियाँमा अभ्यस्त हुन्छन्, त्यसरी नै अनलाइन जुवामा पनि सामेल हुने भएकोले उनीहरुका अभिभावकलाई पनि यसबारे खासै जानकारी हुँदैन।
मनोरञ्जनका लागि अनलाइन जुवा सुरु गरेकाहरु पनि यसको लत बस्दै जाने भएकोले यसको असर उनीहरुको जिन्दगीमा परिरहेको हुन्छ। उनीहरुमा यसको लत बसेकै कारण आफ्नै सबै सम्पत्ति गुमाउने स्थितिसम्म पनि पुग्ने गर्छन्। यसमा सम्पत्ति गुमाउने मात्र नभएर सम्पत्ति गुमेपछिको मानसिक तनावलाई थेग्न नसक्दा जिन्दगी नै गुमाउने स्थितिमा पनि पुग्छन्।
मनोवैज्ञानिक मुक्ता चैतन्यका अनुसार अनलाइन जुवा खेल्नेहरुमा नकारात्मक असर पर्दै जाँदा आपसी सम्बन्धसमेत बिग्रिने हुन्छ। उनले भनिन्, 'यसले मानिसको आपसी सम्बन्ध बिग्रिँदा पारिवारिक जीवन नै बोझ लाग्न थाल्छ भने समयसँगै अनलाइन जुवामा पैसा हार्दा ऋणको बोझ पनि बढ्दै जान्छ। यसमा गुमाएको पैसा फिर्ता ल्याउने लोभका कारण अनलाइन जुवालाई निरन्तरता दिने गर्छन्। जति निरन्तर उनीहरु खेल्छन्, त्यति नै धेरै उनीहरुले पैसा गुमाउँदै जान्छन्।'
यसको लतमा फसेकाहरुलाई जुवाबाहेक अन्य कुरा दिमागमा नै आउँदैन। पछिल्लो एक तथ्यांकअनुसार भारतको तमिलनाडुमा अनलाइन जुवाको लतमा फसेका ४२ युवाले आत्महत्या गरेका छन्। अनलाइन जुवाको खतरालाई रोक्नका लागि तमिलनाडुका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले यस किसिमका विज्ञापनहरु नै बन्द गर्न आग्रह गरेका छन्।
साइबर कानुन विशेषज्ञसमेत रहेका भारतको सर्वोच्च अदालतका वकिल विराग गुप्ताले प्रविधि कम्पनीविरुद्ध दिल्ली उच्च अदालतमा डिजिटल दुनियाँमा बच्चा र महिलाको सुरक्षाको माग गर्दै रिट दायर गरेका थिए। यस मामिलामा अदालतले १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई सामाजिक सञ्जालमा सामिल हुन नपाउने अन्तरिम आदेश दिएको थियो। त्यसैगरी १६ वर्षभन्दा कम उमेरका किशोरकिशोरीहरुले आमा-बाबुको संरक्षणमा रहेरमात्र सामाजिक सञ्जाल चलाउन पाउने आदेश दिएको थियो।
अनलाइन गेमिङमा पैसाको कारोबार हुने भएकोले भारतीय करार ऐन, मिजोरोटी एक्ट र डेटा सुरक्षा ऐनले १८ वर्षभन्दा माथिका व्यक्तिले मात्रै वैध सम्झौता गर्नसक्ने नियम बनाइएको छ। त्यसकारण १८ वर्षभन्दा कम उमेरका व्यक्तिले गरेको सम्झौतालाई गैर-कानुनी मान्ने गरिन्छ। अनलाइन गेमिङलाई नै गैरकानुनी मानिए पनि यो सबै कारोबार अनलाइनबाट नै हुने भएकोले यसको नियन्त्रण चुनौतीपूर्ण बनेको विज्ञहरुले बताउने गरेका छन्।
- बीबीसी हिन्दीबाट