शुक्रबार, साउन २३, २०८२

भोजपुरमा डेंगु रोगको संख्या बढ्दै, ३६ जना संक्रमित

 |  आइतबार, साउन १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

vianetvianet

भोजपुर- पूर्वी पहाडी जिल्ला भोजपुरमा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा संक्रमितको संख्या बढ्न थालेको हो।

जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेंगुबाट भोजपुरमा ३६ जना संक्र्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा संक्रमण देखिएको छ। यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा छ, टेम्केमैयुङ गाउँपालिकामा दुई र रामप्रसाद राई गाउँपालिकामा एकजना डेंगुबाट संक्रमितत छन्।

जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका रहेका छन। पौवादुङ गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकामा विषादी वितरण गरिएको छ भने अन्य पालिकाहरूलाई परीक्षणका लागि किटहरूसमेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।

पालिकाभित्र दुई जनामा सङ्क्रमण देखिएपछि विषादी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। क्रमिकरूपमा सङ्क्रमणको दर बढिरहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनुपर्ने जिल्लावासीको माग छ।

Metro Mart

डेङ्गु नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरू जिल्लामा सञ्चालन हुन नसकेको सामाजिक अभियानकर्मी घमचन्द्र दाहालले जानकारी दिए।

‘सचेतनासहित रोग नियन्त्रण गर्ने जिम्मा सरकारको हो, जिल्ला तहको सरकार भनेको स्थानीय पालिकाहरू हुन्, यिनीहरूको भूमिका प्रभावकारी हुनुपर्छ’, दाहालले भने।

पर्याप्त किटको व्यवस्थापन गरी परीक्षणको दायरासमेत बढाउन आवश्यक रहेको उनको भनाइ छ।  स्थानीय तहमा कार्यरत स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिमा कमी हुनु र स्वास्थ्य कार्यक्रम सञ्चालनका क्रममा विभिन्न निकायबीच देखिने गरेका दोहोरोपन तथा अस्पष्टता, तीन तहका सरकार बीचको अधिकार, कर्तव्य र जिम्मेवारीबारे समझदारी, समन्वय तथा सहकार्यको कमी जस्ता कारणले पनि स्वास्थ्य सेवाहरू प्रभावकारी बन्न नसकेको नागरिकको बुझाइ छ।

समुदायस्तरका स्वास्थ्य संस्थाहरूले जनताको प्रत्यक्ष सहभागितामा सरसफाई, नागरिकका स्वास्थ्य जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा बढी समय र प्राथमिकता दिनुपर्ने औषधी व्यवसायी शान्तिराम रोकाले बताए।

‘लामखुट्टेको प्रभावकारी व्यवस्थापनका साथै सङ्क्रमित व्यक्तिको यथासम्भव चाँडो उपचार तथा व्यवस्थापनमा जुट्न आवश्यक छ’, रोकाले भने।

राज्यका निकायहरू, नागरिक समाज र आमजनताले चासो लिई यो रोगको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भोजपुर नगरपालिका-१० का स्थानीय डा.चक्रबहादुर कार्कीको भनाइ छ।

डा.कार्कीले भने, ‘डेङ्गु के हो र यो कसरी फैलिन्छ र यसको रोकथाम कसरी हुन्छ भन्ने चेतना जनस्तरमा हुन आवश्यक छ, प्रत्येक व्यक्तिलाई टोल र समाजमा डेङ्गुको स्रोत के भन्ने चेतना हुन उत्तिकै जरुरी छ।’

प्रकाशित: Jul 30, 2023| 21:39 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्