बुधबार, साउन २८, २०८२

एटोमिक बमका आविष्कारक ओपनहाइमर हिरो कि भिलेन?

केमेस्ट्री मेजर लिएर पढेका ओपनहाइमर फिजिक्स, फिलोसोफी, साहित्यदेखि लिएर पूर्वी सभ्यता र संस्कृतिबारे समेत जानकारी राख्थे।
 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

१६ जुलाई १९४५। बिहान साढे ५ बजे अमेरिकाको न्यु मेक्सिको राज्यको मरुभूमिमा एउटा बम विस्फोट गराइयो। त्यो कुनै सामान्य विस्फोट थिएन, पहिलोपल्ट न्युक्लियर बम विस्फोट गराइएको थियो। न्युक्लियर बमको त्यो पहिलो परीक्षण थियो। यो परीक्षणको कोड नाम दिइएको थियो ट्रिनिटी। यो पूरै प्रोजेक्टको नेतृत्व गरिरहेका थिए वैज्ञानिक जे रोबर्ट ओपनहाइमर।

बम विस्फोट देखेर ओपनहाइमर स्तब्ध बन्न पुगे। कारण- विस्फोट उनले अनुमान गरेभन्दा ५० गुणा ठूलो थियो। विस्फोटबाट यति तापक्रम उत्पन्न भयो कि त्यहाँ रहेको स्टिल टावर नै पग्लियो। यसको कम्पन करिब १६० किलोमिटर टाढासम्म महसुस गरिएको थियो। विस्फोटबाट निस्किएको 'मसरुम क्लाउड' करिब १२ किलोमिटर माथिसम्म पुग्यो आकाशमा। यो सबै देखेर स्तब्ध भएका ओपनहाइमरको मुखबाट भगवत् गीताको एउटा लाइन निस्किन्छ- Now I am become death, the destroyer of worlds. म अब काल हुँ, जसले लोकको नाश गर्छ। गीताको ११ औं अध्यायको ३२ औं श्लोक हो यो, जहाँ श्रीकृष्णले भनेका छन्, म लोकको नाश गर्ने ठूलो काल हुँ।

जुलियस रोबर्ट ओपनहाइमरलाई 'फादर अफ एटोमिक बम' मानिन्छ। विश्वको पहिलो न्युक्लियर हतियार बनाउने म्यानहटन प्रोजेक्टका निर्देशक थिए उनी। ओपनहाइमरको जन्म सन् १९०४ मा न्युयोर्कमा भएको थियो जर्मन जुइस परिवारमा। बच्चैदेखि उनी 'जिनियस' थिए। १० वर्षको उमेरमै उनले हाइ लेभलको फिजिक्स र केमेस्ट्री पढेका थिए। उनी यति तिक्ष्ण थिए कि १२ वर्षकै उमेरमा उनलाई न्युयोर्कको मिनेरोलोजिकल क्लबमा लेक्चर  दिनका लागि बोलाइएको थियो।

सन् १९२२ मा उनी हार्वर्ड युनिभर्सिटीमा भर्ना भए। चार वर्षको डिग्री ओपनहाइमरले ३ वर्षमै पूरा गरे। उनी आफ्नो कक्षामा सधैं पहिलो भए। केमेस्ट्री मेजर लिएर पढेका ओपनहाइमर फिजिक्स, फिलोसोफी, साहित्यदेखि लिएर पूर्वी सभ्यता र संस्कृतिबारे समेत जानकारी राख्थे। 

उनको असली प्यासन भने फिजिक्स थियो। एक समय उनले भनेका थिए- मलाई साथीभन्दा फिजिक्स प्यारो छ। सन् १९२७ मा मात्र २३ वर्षको उमेरमा उनले पीएचडी पूरा गरे। कथाको अर्को पाटो पनि छ- ओपनहाइमर चेन स्मोकर थिए र डिप्रेसनको सिकार बनेका थिए। 

Metro Mart

सन् १९३० को दशकको शुरुतिर जर्मनीमा हिटलर पावरमा आएपछि ओपनहाइमरले राजनीतिमा रुचि राख्न थाले। उनको परिवार जर्मन थियो। हिटलरको क्रुर शासनका कारण धेरै जर्मन वैज्ञानिक अमेरिका गइरहेका थिए। यो सूचीमा अल्बर्ट आइन्सटाइनको पनि नाम आउँछ। ओपनहाइमर जुइस परिवारका थिए र जर्मनीमा जुइसमाथि भएको अत्याचार देखेपछि उनमा राजनीतिको रुचि बढ्न गयो। उनले जर्मनीका श्रम युनियन र हड्तालमा उत्रिएका किसानलाई आर्थिक सहयोग पनि गरेका थिए। 

oppenheimer mag rollout 661690190983.jpg

सन् १९३९ सेप्टेम्बरमा हिटलरले पोल्याण्डमाथि कब्जा गरेपछि दोस्रो विश्वयुद्ध सुरु भयो। यो विश्वयुद्धमा अमेरिकाको रुचि थिएन तरपनि सम्भावित खराब परिस्थितिका लागि तयारी भने गरिरहेको थियो। युद्ध सुरु हुनु एक महिनाजति अघि अल्बर्ट आइन्सटाइनले अमेरिकी राष्ट्रपति रुजवेल्टलाई चिठी लेखेका थिए। चिठीमा उनले हिटलरले न्युक्लियर हतियारको काम गरिरहेको जानकारी दिएका थिए। यसकारण अमेरिका तयार रहनुपर्छ भनेर सुझाव दिएका थिए।  चिठी पढ्नासाथ रुजवेल्टले एक्सन लिइहाले। युरेनियमको सम्भावनाबारे रिसर्च गर्न उनले एउटा टिम बनाए। यसैबेला ओपनहाइमर पनि छुट्टै रिसर्च गरिरहेका थिए न्युक्लियर फ्युजनबारे।  

११ अक्टोबार १९४१ मा अमेरिकी राष्ट्रपति रुजवेल्टले बेलायती प्रधानमन्त्री विन्सटन चर्चिललाई एउटा प्रस्ताव पठाए एटोमिक विकासका लागि सहकार्यको प्रस्तावसहित। यसको दुई  महिना नबित्दै जापानले पल हार्बरमा हमला गरिहाल्यो। योसँगै दोस्रो विश्वयुद्धमा अमेरिकाको ‌‌औपचारिक इन्ट्री हुन पुग्यो। जर्मनी र जापानको विरुद्ध लडिरहेको एलायन्सको हिस्सा अमेरिका पनि भएको घोषणा राष्ट्रपति रुजवेल्टले गरे। 

यतिबेलासम्ममा एटोमिक हतियार बनाउन अमेरिकाले २.२ बिलियन डलर खर्च गरिसकेको थियो। वैज्ञानिकबाट सुरु भएको मिसन सैनिक मिसन बनिसकेको थियो। 

१३ अगष्ट १९४२ मा म्यानहाटन प्रोजेक्ट सुरु भयो। ओपनहाइमर एटोमिक बमको डिजाइनका लिडर नियुक्त भए। प्रोजेक्टलाई गोप्य राख्न एउटा लोकेसन छानियो र युद्धस्तरमा काम अगाडि बढाइयो। त्यसपछि खोजियो परीक्षण गर्ने स्थान जुन न्यु मेक्सिको राज्यको एउटा उपत्यका थियो। सँगै ओपेनहाइमरलाई प्रोजेक्टको पूरै जिम्मेवारी दिइयो। 

अब आयो परीक्षणको समय। परीक्षण गर्न लागिएको बमको नाम दिइएको थियो ग्याजेट। यसमा करिब १३ पाउण्ड प्लुटोनियम थियो। स्टिल टावरको सहायताबाट यसलाई सय फिटमाथि झुन्डाइयो। १६ जुलाई १९४५ बिहान साढे ५ बजे यसलाई विस्फोट गराइयो। अनुमान गरेभन्दा कैयौं गुणा शक्तिशाली निस्कियो यो बम। यही देखेर ओपनहाइमरको मुखबाट निस्किएको थियो गीतामा भएको श्लोक। वास्तवमा ओपनहाइमर एक संस्कृत स्कलर पनि थिए र उनले गीताको अध्ययन गरेका थिए। भगवत् गीतालाई आफ्नो जीवनको एउटा प्रभावशाली पुस्तक मान्थे उनी।

ट्रिनिटी परीक्षण भएको एक महिना नबित्दै ६ अगष्ट १९४५ मा लिटिल ब्वाइ बमलाई जापानको हिरोसिमा सहरमा खसालियो। त्यसको तीन दिनपछि अर्को बम नागासाकीमा खसालियो। यसको असर के पर्‍यो दुनियाँलाई थाहा छ। परमाणु बमले कतिको मृत्यु भयो भन्ने तथ्यांक अनुमानमात्रै हो। हिरोशिमाका ३५०,००० जनसंख्यामध्ये १४०,००० र नागासाकीमा कम्तीमा ७४,००० मानिस मरेको बताइन्छ। बमको विकिरिणको असरका कारण हप्तौं, महिनौं र वर्षौंपछि पनि मानिसहरू विभिन्न रोगले मरेका थिए। बम विस्फोटपछि एसियामा युद्ध समाप्त भएको थियो र जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो।

हिरोसिमामा बम खसालेपछि ओपनहाइमरले खुसी व्यक्त गरेका थिए। उनले भनेका थिए- यो बम हिटलरविरुद्ध अथवा नाजी जर्मनीविरुद्ध पनि प्रयोग गर्न पाएको भए कति जाती हुन्थ्यो। तर जब नागासाकीमा पनि बम खसालियो- उनी स्तब्ध भए। त्यसपछि उनले न्युक्लियर हतियारलाई प्रतिबन्ध लगाउन माग गरे। उनलाई ठूलो पश्चाताप भयो।

अप्रिल १९४५ मा रुजवेल्टको मृत्यु भयो र ह्यारी ट्रयुम्यान अमेरिकी राष्ट्रपति बने। ओपनहाइमरले उनलाई भेटे र भने- मेरो हात रगतले लतपतिएको छ। राष्ट्रपति रिसाए र गाली गरे। ओपनहाइमरलाई आफ्नो अफिसबाट निकाल्न लगाए र फेरि देख्नु नपरोस् भनेर चेतावनी दिए। ओपनहाइमरले न्युक्लियर हतियारमा नियन्त्रण गर्ने आफ्नो प्रयास जारी राखे। १९४९ मा ट्रयुम्यानले हाइड्रोजन बम बनाउने प्रस्ताव गर्दा ओपनहाइमरले ठाडै अस्वीकार गरे। तर यसको अर्थ रहेन। किनकी अमेरिकाले हाइड्रोजन बम बनाइछाड्यो। ओपनहाइमरले सबै  छाडेर विश्वभर लेक्चर दिँदै बाँकी जीवन बिताए। ओपनहाइमरलाई नोबेल पुरस्कारका लागि तीनपल्ट मनोनित पनि गरियो तर पाएनन्। सन् १९६५ मा घाँटीको क्यान्सरका कारण उनको मृत्यु भयो। उनी त्यतिबेला ६२ वर्षका थिए।

अहिले विश्वका ९ देशसँग न्युक्लियर हतियार छ- रुस, अमेरिका, चीन, फ्रान्स, बेलायत, पाकिस्तान, भारत, इजरायल र उत्तर कोरियासँग। खुसीको कुराचाहिँ के छ भने पछिल्लो ८० वर्षयता न्युक्लियर हतियार प्रयोग भएको छैन। 

प्रकाशित: Jul 24, 2023| 17:33 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

पर्सामा कृषकको मागअनुसार सरकारी अनुदानको मल उपलब्धता गराउन भने सकिएको छैन। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मलले ६०...