काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि अवैध आर्थिक गतिविधिबारे सूचना उपलब्ध गराउनेलाई पुरस्कृत गर्ने व्यवस्था हटाइएकामा आफूले त्यसलाई पुनर्जीवित गरेपछि एक क्विन्टल अवैध सुन बरामद भएको दाबी गरेका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटमा अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार व्यवस्था गरिएकै कारण विमानस्थलबाट अवैध १०० किलो सुन बरामद भएको उनले बताएका हुन्।
सोमबार नेपाल प्रेस युनियनले रुपन्देहीमा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था यसअघि बीचमा हटाइए पनि आफूले बजेटमार्फत त्यसलाई जीवित बनाएको जानकारी दिए। उनले भने, ‘भन्सारमा हुने गढबडीलाई निस्तेज गर्न पुरस्कार व्यवस्था गरिएको हो। सूचना दिने व्यवस्था बीचमा हटाइए पनि पुनजीर्वित गरेकै परिणाम अवैध सुन बरामद भयो। यसलाई थप व्यवस्थित गर्ने हो।’
अवैध सुन प्रकरणका सबै घटनालाई सूक्ष्म रुपमा अनुसन्धान गर्न थालिएको निष्कर्ष राम्रो निस्कने दाबी उनले गरे। भन्सारमा अवैध गतिविधि हुन नदिन आधुनिक मेसिन जडान, हाल रहेका मेसिन स्तरोन्नति र कर्मचारीलाई आचरण सिकाउने काम भइरहेको उनको सुनाए। मुलुकमा सुशासन कायम गर्न अवैध सुन कारोबारजस्ता गैरकानुनी काम हुन नदिन सरकार कटिबद्ध रहेको उनको भनाइ छ।