काठमाडौं– ०७७ माघ अन्त्यतिरको कुनै एक दिन। ललितपुरस्थित इमाडोलमा बस्दै आएका रौतहटका जाभेद अली सदाझैं फेसबुक चलाइरहेका थिए। न्युजफिड स्क्रोल गर्दै जाँदा एक्कासि उनले एउटा विज्ञापन देखे । ’एम अलाइड इलेक्ट्रोनिक्स’ नामको पेजबाट गरिएको विज्ञापन, जहाँ अंग्रेजीमा लेखिएको थियो– ४० प्रतिशत डिस्काउन्टमा मोबाइल अफर।
सामसङ ग्यालेक्सी एस२० अल्ट्रा मोडलको उक्त मोबाइललाई पसलमा करिब ७० हजार रुपैयाँ पर्थ्यो। तर, उनले त्यहाँ करिब ४० हजारमै पाउने विज्ञापन देखेपछि मख्ख परे।
विज्ञापन नेपालका व्यावसायिक अनलाइन सपिङले गरेजस्तै ‘रियल’ लाग्यो। फेक होला भन्ने उनले ठान्दै ठानेनन्। बरु ठाने– यो त मौका हो, चौका हानिहाल्नुपर्छ।
तत्काल पेजको म्यासेज अप्सनमा गएर सोधिहाले– ‘मोबाइल कहाँ कसरी किन्ने?’ रिप्लाइ नेपालीमा आउँदैनथ्यो, तैपनि ‘टुटेफुटेको’ अंग्रेजीमै भए पनि कुराकानी थाले।
उताबाट ह्वाट्सएप नम्बर दिइयो र त्यसैमा म्योसज गर्न भनियो। उताबाट जस्तो भनियो, हतारहतार जाभेदले त्यसै गरे। सुरुमा उताबाट मोबाइल लिने भए ७ हजार रुपैयाँ एडभान्स दिनुपर्ने सर्त आयो। उनी तयार भए। पैसा पठाउनका लागि कमला खड्का नाम गरेकी एक महिलाको एकाउन्ट नम्बर दिइयो। उनले ७ हजार पठाइदिए, तर भोलिपल्ट मोबाइल आएन।
उनले त्यही ह्वाट्सएपमा सोधे– खोइ त मोबाइल? उताबाट मोबाइल प्याक भइसकेको तस्बिर पठाइयो र जवाफ आयो, ‘ट्याक्स १० हजार लाग्छ, त्यो पठाइहाल्नुपर्ने भयो।’ दानबहादुर विश्वकर्मा नाम गरेका व्यक्तिको इसेवा आईडी दिइयो, जाभेदले त्यसैमा पैसा पठाइदिए।
तर, पर्सिपल्ट पनि आएन मोबाइल। काठमाडौंमा मजदुरी गरेर गुजारा चलाइरहेका जाभेदको १७ हजार गइसक्यो, तर अझै उनी आशावादी भइरहे। सोधे– खोइ मोबाइल त आइपुगेन त!
फेरि उताबाट जवाफ आयो– डेलिभरी भाडा १० हजार लाग्छ, यहाँ रेडी भइसक्यो। अबचाहिँ मनमा अलि आशंका भयो। सोधे– साँच्चै आउँछ नि? कि ढाँटेको हो?
जानी–नजानी भए पनि उनी अंग्रेजीमै संवाद गरिरहेका थिए। ‘आउँछ, चिन्ता नलिनु’ उताबाट आश्वस्त बनाउने क्रम जारी थियो। तर, मोबाइल आइपुगेन। बरु उल्टै म्यासेज आयो– डेलिभरी क्याब ट्याक्स ८ हजार लाग्ने भयो, ह्यान्डलिङ फि २० हजार लाग्ने भयो।
सोचेका थिए, ४० हजारसम्ममा मोबाइल पाइएला। तर, ५५ हजार पुग्ने भयो। पहिलेझैं उनले त्यो रकम पनि पठाइदिए। तर, कसैले उनलाई मोबाइल पठाइदिएन, बरु मोबाइल पठाइदिन्छु भनेर म्यासेज गर्ने नम्बर नै सम्पर्कविहीन भयो।
त्यसपछि बल्ल जाभेदलाई आफू ठगिएको महसुस भयो। अनि पुगे, महानगरीय प्रहरी अपराध महाशाखाको शरणमा। गत माघ ११ गते महाशाखामा उनको उजुरी दर्ता भयो।
यो उजुरीभन्दा करिब १ महिनाअघि अपराध महाशाखामा यही फेसबुक पेजबाट ठगिएको अर्को एक निवेदन पुगेको थियो। जसका पीडित थिए, भक्तपुरस्थित ठिमीका सुदीपराज महत। एम अलाइड इलेक्ट्रोनिक्स नामकै पेजमा उनले एप्पलको नयाँ आइफोन१२ प्रो म्याक्सको विज्ञापन देखेका थिए। जहाँ अंग्रेजीमा लेखिएको थियो– ‘केही दिनका लागि ४० प्रतिशत डिस्काउन्ट अफर।’
यति सस्तोमा आइफोन प्रो म्याक्स पाउने भएपछि महत लोभिइहाले। नेपालमा डेढ लाखभन्दा बढी पर्ने आइफोन ७०–८० हजारमै पाउने भएपछि उनले तत्काल म्यासेज पठाइहाले। जाभेदलाई झैं उनलाई पनि पेजको ह्वाट्सएप नम्बरमा कुराकानी गर्न भनियो। जाभेदलाई झै उनलाई पनि कहिले ट्याक्स, कहिले डेलिभरी चार्ज त कहिले ड्युटी फिका लागि भनेर पटक पटक गरेर करिब १ लाख ४१ हजार २ सय ५० रुपैयाँ पठाउन लगाइयो। कहिले इसेवामा कमला खड्काको नाममा त कहिले आइएमइमार्फत मोहम्मद अख्तरका नाममा। तर, मोबाइल आइपुगेन।
यही एउटा फेसबुक पेजबाट ठगिएको उजुरी लिएर करिब दुई महिनाको बीचमा पाँच जना प्रहरीको शरणमा पुगे । सबैलाई उस्तै शैलीमा ठगिएको थियो। महाशाखाका प्रवक्ता एवम् एसपी कृष्ण कोइरालाका अनुसार सस्तोमा मोबाइल दिने भन्दाभन्दै सबैले महँगो रकम तिर्न बाध्य हुनुको कारण मोबाइल आइपुगेपछि पैसा फिर्ता गरिदिने आश्वासन पनि थियो।
पीडितको उजुरी आएपछि कहाँबाट ठगी भइरहेको रहेछ भनेर अनुसन्धान गर्दा पेज नाइजेरियाबाट चलिरहेको खुलेको थियो। तर, नेपालमा फेसबुकको कुनै शाखा छैन, न रेस्पोन्स टिम नै। ठगीको गिरोहसम्म पुग्न फेसबुकको सहयोग आवश्यक थियो। महाशाखाले सिंगापुरस्थित फेसबुकको कार्यलयमै पत्र पनि लेख्यो, सहयोगको आह्वानसहित। तर, उताबाट नाइजेरियन प्रहरीको निवेदन नआएसम्म सहयोग गर्न नसकिने जवाफ आयो। तर, त्यो सम्भव थिएन। त्यसैले प्रहरी निरीह बस्न बाध्य भयो।
महानगरीय प्रहरी अपराध महाशाखाको ०७७ साउनदेखि ०७८ असारसम्मको विवरण केलाउँदा यसरी अनलाइनबाट मोबाइल खरिद गर्ने क्रममा मात्रै ६९ जना ठगिएको पाइयो, जसमा ४८ पुरुष र २१ महिला छन्। उनीहरु सबैको जोड्दा ठगी रकम ६२ लाख रुपैयाँ हुन्छ।
यो त मोबाइलको प्रलोभनमा भएको ठगीमात्रै भयो। पछिल्लो समय विभिन्न उपाय अपनाएर अनलाइनबाट ठग्ने गिरोह बढिरहेको छ। महाशाखाको विवरण केलाउँदा एक वर्षमा ८ करोड ५५ लाख ५ सय ९३ रुपैयाँ अनलाइनबाट ठगिएको देखिएको छ। ठगिनेमा सबैभन्दा बढी पुरुष २१३ जना छन् भने महिलाको संख्या १३१ छ।
‘तपाईंको चिठ्ठा परेको छ ट्याक्स रकम पठाएपछि मात्र त्यो पाइन्छ’ भन्दै ठग्ने समूहहरु पनि बढिरहेका छन्। महाशाखाको सूचीअनुसार यो एक वर्षमा २८ पुरुष र २२ महिला यही शीर्षकमा ठगिएका छन्।
विदेशी आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाउने, साथी बन्ने, उपहार पठाइदिन्छु भन्ने अनि उपहार प्याक गरेर पठाइदिएको तस्बिरसम्म पठाएर ठग्नेहरु पनि बढेका छन्। उनीहरुले उपहार प्याक गरेर पठाएपछि कतैबाट फोन आउँछ– तपाईंको पार्सल आएको छ, पार्सल पठाउनका लागि ट्याक्स या डेलिभिरी चार्ज यति रकम पठाउनुस्। एसपी कोइराला भन्छन्, ‘त्यसपछि उपहार कुरिरहेकाहरु मख्ख पर्दै पैसा पठाइदिन्छन्। तर, उपहार कहिल्यै हात पर्दैन। जब ठगिएको थाहा हुन्छ, अनि हामीकहाँ आइपुग्छन्।’
अर्काको फेसबुक आईडी ह्याक गरेर ठगी गर्नेको संख्या पनि कम छैन। एक वर्षमा ७२ जना पुरुष र २९ महिला यसैगरी ठगिएका छन्। उनीहरुको एक करोड ६७ लाख ८ हजार ४ सय ४८ रुपैयाँ रकम यही गिरोहका कारण डुबेको छ।
अनलाइनबाट ठग्नेहरु धेरैले पछिल्लो समय इसेवाको सहारा लिइरहेको पाइएको छ। यो एक वर्षमा इ–सेवामार्फत नै १८ पुरुष र ५ महिला ठगिएको पाइयो।
रेस्पोन्स टिम नहुँदा अनुसन्धानमा समस्या
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, ट्विटर, टिकटक आदि केहीका पनि रेस्पोन्स टिम या शाखा यहाँ छैनन्। यही कारण पनि प्रहरीलाई अनुसन्धानमा समस्या भइरहेको बताउँछन्, महाशाखाका एसपी कृष्ण कोइराला।
‘अनलाइनबाट ठग्नेहरु कहाँबाट कसरी फेसबुक चलाइरहेका छन्, कुनै पनि सोसल मिडियाको रेस्पोन्स टिम नहुँदा हामीलाई ट्रयाक गर्न, अनुसन्धान गर्न गाह्रो भइरहेको छ,’ उनी भन्छन्, ‘अनलाइनबाट ठग्नेहरु साह्रै चतुर देखिन्छन्। सोसल मिडिया कसरी चलाउने उनीहरुलाई थाहा छ। र, थाहा नभएका सोझा–साझालाई उनीहरुले टार्गेटमा पार्ने गर्छन्। नेपालमा विभिन्न व्यक्तिलाई एजेन्ट राख्ने गर्छन्, उनीहरुको नाममा पैसा हाल्न लाउँछन्। कतिपय केसमा त जसको नाममा पैसा हाल्न लगाउँछन्, उनीहरुकै खाताको डिजिटल एक्सेस पनि ह्याक गरेको पाइएको छ।’
त्यसैले अनलाइन ठगी या सोसल क्राइमलाई रोक्न नेपालमा सोसल मिडियाको रेस्पोन्स टिम स्थापना हुन अत्यावश्यक भइसकेको बताउँछन्, कोइराला। ‘कम्तीमा फेसबुकले रेस्पोन्स टिम भनेर एउटा कर्मचारीमात्रै यहाँ राखिदियो भने प्रहरीलाई सूचना लिन, अनुसन्धान गर्न र अनलाइनबाट हुने ठगी या अपराध नियन्त्रण गर्न सहज हुने थियो,’ उनी भन्छन्।
सोसल मिडिया साक्षरताको कमी
सोसल मिडिया कसरी प्रयोग गर्ने भन्ने साक्षरताको कमी हुँदा यसरी अनलाइनबाट ठगी या साइबर क्राइम बढिरहेको बताउँछन्, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तराज कुँवर। ‘प्रविधिको विकास र समाजमा आएकोे परिवर्तनसँगै मान्छेका इच्छा–आकांक्षा बढ्दै गएका छन् र त्यही इच्छाआंकाक्षाले उनीहरु फसिरहेका छन्। सोसल मिडियामा आएका प्रस्तावलाई सजिलै विश्वास गरिदिँदा पनि समस्या भइरहेको छ,’ उनी भन्छन्।
एसपी कृष्ण कोइराला पनि गाउँ–गाउँमा सोसल मिडियाबारे पढाउन आवश्यक देख्छन्। भन्छन्, ‘जसरी अहिले हरेक नेपालीको फोनमा कोरोना सचेतनाको सन्देश बज्छ, अब अनलाइनबाट हुने ठगी रोक्न पनि त्यस्तै सचेतनाको सन्देश बजाउन आवश्यक देखिएको छ। यस विषयमा हाम्रो छलफल पनि भइरहेको छ।’