शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आरबीएफ, बान र अकोराब सम्बद्ध रेडियोले संगीतकार सुरेश अधिकारीका गीत प्रशारण नगर्ने

आरबीएफ, बान र अकोराब सम्बद्ध रेडियोले संगीतकार सुरेश अधिकारीका गीत प्रशारण नगर्ने

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- नेपालका स्वतन्त्र रेडियो सम्वद्ध तीन छाता संगठनहरुले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृतिहरु प्रशारण नगर्ने निर्णय गरेका छन्।

National life

आज बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ), नेपाल ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) ले यस्तो जानकारी दिएका हुन्।

'नेपालका स्वतन्त्र रेडियोका सञ्चालक  तथा  सम्वद्ध  संघ संस्थालाई  लक्षित  गरी  सुरेश  अधिकारीको नामबाट सञ्चालित फेसबुक एकाउन्ट मार्फत आएको  अत्यन्त अमर्यादित  गाली गलौच, मानमर्दन र भ्रम  सिर्जना गर्ने आसय सहितको अभिव्यक्तिप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा सामाजिक पहिचान बनाएका व्यक्तिबाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै अर्थमा पनि सभ्य समाजमा  सुहाउँदो  कुरा हुनै सक्दैन। यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउने मात्रै होइन सञ्चार माध्यमसितको सम्वन्धमा समेत दुरी बढाउने कार्य गरेको छ,' आरबीएफका अध्यक्ष आर के श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोराबका अध्यक्ष अर्जुन गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

'संगीत रोयल्टी  संकलन समाजका नाममा स्थापित एक गैरसरकारी तथा  गैर नाफा मूलक संस्थाका नाममा राज्यको चौथो अंगको  रुपमा  स्थापित  सञ्चार  उद्योगको  सुसञ्चालन  गर्न  पाउने  नेपालको  संविधानको  भाग ३ मौलिक  हक  र  कर्तव्य अन्तर्गतको १९ औं दफा (सञ्चारको हक) को ठाडो उल्लंघन गर्दै आम सञ्चार गृहका उपकरणहरु समेत उठाउने विषयमा समेत दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै नेपाल सरकारसँग आम सञ्चार गृहको सुरक्षाको माग समेत गर्दछौं,' विज्ञप्तिमा अगाडि भनिएको छ।

संगीतकार अधिकारीको अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत  क्षेत्रबीचको  सुमधुर सम्बन्धमा  समेत  नकारात्मक  प्रभाव  पार्न  सक्ने  कुराको  महसुस  गर्दै  उनका  सम्पूर्ण  सांगीतिक  कृतिहरु रेडियोबाट प्रसारण गर्न नसकिने तीन वटै संस्थाले विज्ञप्तिमार्फत अवगत गराएका छन्।

Shivam cement

यसअघि आरबीएफ, बान र अकोराब तीनै वटा संस्थाले यही विषयमा नेपाल प्रहरीको साइबर ब्युरो रानीपोखरीमा ध्यानार्कषण पत्र बुझाएका थिए। ध्यानाकर्षणको विषय सम्बोधन नभएमा संगीतकार अधिकारीका सम्पूर्ण गीतसंगीत बहिष्कार गर्ने चेतावनी पनि रेडियो सम्बद्ध संस्थाहरुले दिएका थिए।

अधिकारी संगीतकारका साथै रोयल्टी संकलन समाजका अध्यक्ष पनि हुन्। उनले फेसबुकमा लेखेको स्टाटसमा रेडियो सञ्चालकहरुले आपत्ति जनाएका हुन्। 'उक्त अभिव्यक्तिले सिंगो रेडियो क्षेत्रको मानमर्दन भएको महसुस गर्दै विद्यमान कानुन बमोजिम कारबाही गरी पाउँ भनी रेडियोहरुको छाता संगठनका तर्फबाट यो निवेदन पेस गरेका छौं,' साइबर ब्युरोमा बुझाइएको पत्रमा भनिएको छ। सामाजिक सञ्जाल मार्फत कोहीकसैले कसैको मानहानी हुने खालका अभिव्यक्ति दिएमा त्यसलाई साइबर कानुनअनुसार कारबाही हुने प्रावधान रहेको छ।

तीन संस्थाले बिहीबार जारी गरेको संयुक्त विज्ञप्ति

 

प्रकाशित: Jul 20, 2023| 17:42 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्