काठमाडौं- तस्करी गरेर भित्र्याइएको झण्डै सय किलो सुन बरामद भएको भोलिपल्ट आज राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सारको गोदाम निरीक्षण गरेको छ। विभागका महानिर्देशक नवराज ढुंगानासहितको टोली त्यहाँ पुगेको हो।
अरु पनि सुन भएको आधारमा गोदाममा भएका अन्य कन्साइन्मेन्ट हेर्न विभागको टोली गएको हो। प्रहरीसहितको टोलीले शंकास्पद सामानको परीक्षण गरेको छ।
तस्करीको सुनसँगै क्याथे प्यासिफिकको विमानमा हङकङबाट आएका बाँकी प्याकेजमा पनि सुन हुन सक्ने आशंका अधिकारीहरु भन्सार पुगेका हुन्। यद्यपि, ती प्याकेजमा सुन भने फेला नपरेको बताइएको छ।
करिब सय किलो अवैध सुन भित्र्याएको रेडी ट्रेड प्रालिले नै मगाएको अर्को खेप सामान रहेको सूचनामा विभागको टोली भन्सार कार्यालय पुगेको थियो।
यता हिजो बरामद भएको सुनको तौल यकिन गर्न थापाथलीस्थित राष्ट्र बैंकको टक्सार विभाग लगिएको छ।