काठमाडौं- राजस्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीलाई सिनामंगलमा खानतलासी गर्दा करिब १ सय क्विन्टल सुन बरामद गरेको छ।
विमानस्थलमा अवस्थित भन्सार कार्यालयबाट सय क्विन्टल सुन भन्सार जाँच भएर बाहिरिएपछि तस्करले विमानस्थललाई सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनाइरहेको खुलासा भएको छ।
उच्च राजनीतिक नेतृत्व र भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन कारोबार भइरहेको यो घटनाले पनि पुष्टि गरेको छ। १ अर्बभन्दा बढी मूल्य पर्ने यो सुन कसको हो भन्ने खुलेको छैन।
विमानस्थल भन्सार कर्मचारीको विशेष लाइनमा सय क्विन्टल सुन बोकेको ट्याक्सी विमानस्थलबाट बाहिरिएर सिनामंगल पुगेपछि राजस्व अनुसन्धानको टोलीले पिछा गरेको थियो। सोही क्रममा ट्याक्सीमा सय क्विन्टल सुन भेटिएको हो।
हालसम्म बरामद सुन प्रकरणमा दोलखा घर भएका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पक्राउ परेका छन्। उनीहरूले बयानका क्रममा अरु कसैको नाम लिएको प्रहरीले बताएको छैन। समातिएका ६ जना भरिया हुन् वा कारोबारी हुन् भन्ने पनि यकिन खबर बाहिर आइसकेको छैन।
जहाजमार्फत सुन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिनुको कारण पत्ता लगाउन भन्सार विभागले आज मात्रै ६ सदस्यीय छानबिन समिति गठन गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार करिब सय किलो सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको हो।
विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठित समितिलाई विमानस्थल भन्सारबाट एक क्विन्टल सुन बाहिरिएको बारे पूरै छानबिन गर्न विभागले पाँच दिने समय दिएको छ।
छानबिन टोलीले गोदाममा थप सामान भए–नभएको, भन्सार प्रक्रियाको त्रुटि, जाँचपासमा खटिएका कर्मचारीले मालवस्तुको एक्सरे परीक्षण गरे-नगरेको, त्यसमा खटिएका कर्मचारी, मालवस्तुको भन्सार मूल्यांकन गर्ने कर्मचारी, पास गर्ने अन्तिम निर्णय गर्ने अधिकारी तथा सिसिटिभी फुटेज इत्यादिको अध्ययन गर्नेछ।
मोटरसाइकल-स्कुटरको ब्रेक शु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याइएको सुन विमानस्थलस्थित सिनामंगल भन्सार कार्यालयबाहिर ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो।
सुन बरामदपछि अनुसन्धानका क्रममा चार जना पक्राउ परेकामा अहिले त्यो संख्या ६ पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको करिब सय क्विन्टल अवैध सुन बोक्ने ट्याक्सीलाई समेत यतिबेला राजस्व अनुसन्धान विभाग परिसरमा राखिएको छ। बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट विभागको टोलीले अवैध सुन बरामद गरेको थियो।
सुन बरामद भएपछि विभागले सुन र चालकसहित ट्याक्सीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ। बरामद सुनको यकिन परिमाण बुझ्न विभागले जोख्नका लागि राष्ट्र बैंकमा पठाएको छ। राष्ट्र बैंकमा जोखिएपछि सुनको आधिकारिक परिमाण निश्चित हुने विभागका अधिकारीले बताएका छन्। कार्गोका रुपमा आएको सुन भन्सार पास भएर बाहिरिसकेको अवस्थामा राजस्वको टोलीले बरामद गरेको थियो। बुधबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित चार जनालाई पक्राउ गरेको थियो।
विमानस्थलबाट बरामद सुनको परिमाण हालसम्मकै ठूलो हो। यसअघि ८८ किलोसम्म बरामद भएको राजस्व अनुसन्धान विभागको तथ्यांकमा उल्लेख छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बुधबार एक क्विन्टल सुन बरामद भएर केही मानिस पक्राउ परे पनि यसअघि यस्तैगरी सुनको कारोबार भएको हुन सक्नेबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन्। अनुसन्धानपछि सुन तस्करको गिरोहबारे थप जानकारी बाहिर आउने उनको भनाइ छ। उनले भने, ‘अनुसन्धान भर्खरै सुरु भएकाले धेरै कुरा बाहिरिएका छैनन्। सुन बरामद गरिएको छ। केही मानिस पक्राउ परेका छन्। थप छानबिनपछि सबै कुरा खुलस्त हुन्छ।’ भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले यसमा भन्सारका कर्मचारी पनि छानबिनमा पर्ने उनको भनाइ छ।
यसअघि पनि पटक–पटक विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। पछिल्लो दुई महिनामा मात्रै अहिले सुन ल्याउने तस्कर गिरोहले कम्तीमा २५ पटक सुन ल्याएको स्रोतको दाबी छ। सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिसकिएको छ। भन्सार अधिकृत सन्तोष चन्द निलम्बित भए पनि नासुको नाम विभागले सार्वजनिक गरेको छैन।
प्रहरी र भन्सारका अधिकारीहरुसँग गृहमन्त्रीको छलफल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुन बरामद भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र भन्सारका उच्च अधिकारीहरुसँग यसबारे छलफल गरेका छन्। प्रहरी, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागका प्रमुखलाई उनले गृह मन्त्रालयमा बोलाएका हुन्।
छलफलमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, एआईजी मीरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललगायत सहभागी छन्।
मल्होत्राले भने- मेरो संलग्नता छैन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब सय किलो सुन प्रकरणमा नाम जोडिएपछि व्यापारी दीपक मल्होत्राले त्यसमा आफ्नो संलग्नता नभएको बताएका छन्। आज बिहीबार पत्रकार सम्मेलन गरेर उनले विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको प्रष्ट पारेका हुन्।
उनले भने, ‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन। मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु।’ उनले आफ्नो नाम जोडेर प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रहेको दाबी गरे। उनले आफूलाई कुनै जानकारीका लागि सोधपुछ नगरिएको समेत बताए। उनले भने, ‘अनुमानको भरमा स्रोतको हवाला दिँदै पत्रकारले समाचारमा मेरो नाम मुछेका छन्। तस्बिरसमेत राखेर मेरो सार्वजनिक जीवनमा प्रहार गर्न खोजेका छन्।’ मल्होत्राले आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुनबमोजिम सरकारलाई तिरिरहेको उल्लेख गरे।
'एक सामान्य नागरिकसरह मेरो आफ्नो वैयक्तिक, पारिवारिक एवं सामाजिक पहिचान प्रतिष्ठा र सम्मान रहेको छ। यस पृष्ठभूमिमा मलाई एकपटक पनि नबुझी समाचारमा उल्लेखित गैरकानुनी क्रियाकलापमा मेरो तस्बिरसहित संलग्नता रहेको भन्ने समाचारले मलाई अनर्गल आरोप लगाउने मेरो स्वाभिमान र अन्तस्करणमा गम्भीर चोट पुऱ्याउने र मर्माहत गर्ने कार्य भएको छ,' उनले भनेका छन्।