काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब सय किलो सुन प्रकरणमा नाम जोडिएपछि व्यापारी दीपक मल्होत्राले त्यसमा आफ्नो संलग्नता नभएको बताएका छन्। आज बिहीबार पत्रकार सम्मेलन गरेर उनले विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको प्रष्ट पारेका हुन्।
उनले भने, ‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन। मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु।’ उनले आफ्नो नाम जोडेर प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रहेको दाबी गरे। उनले आफूलाई कुनै जानकारीका लागि सोधपुछ नगरिएको समेत बताए। उनले भने, ‘अनुमानको भरमा स्रोतको हवाला दिँदै पत्रकारले समाचारमा मेरो नाम मुछेका छन्। तस्बिरसमेत राखेर मेरो सार्वजनिक जीवनमा प्रहार गर्न खोजेका छन्।’ मल्होत्राले आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुनबमोजिम सरकारलाई तिरिरहेको उल्लेख गरे।
'एक सामान्य नागरिकसरह मेरो आफ्नो वैयक्तिक, पारिवारिक एवं सामाजिक पहिचान प्रतिष्ठा र सम्मान रहेको छ। यस पृष्ठभूमिमा मलाई एकपटक पनि नबुझी समाचारमा उल्लेखित गैरकानुनी क्रियाकलापमा मेरो तस्बिरसहित संलग्नता रहेको भन्ने समाचारले मलाई अनर्गल आरोप लगाउने मेरो स्वाभिमान र अन्तस्करणमा गम्भीर चोट पुऱ्याउने र मर्माहत गर्ने कार्य भएको छ,' उनले भनेका छन्।