शनिबार, जेठ ३०, २०८३

बञ्चरेडाँडामा फोहर फाल्न नदिने स्थानीयको अडान कायमै

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्। 

National life

एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो। यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले जानकारी दिए। 

स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटकपटक रोकिएको काठमाडौँ उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ।  

नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहर व्यवस्थापन गर्न नदिने स्पष्ट पारे। धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहर व्यवस्थापनमा रोक लगाइएको बताए।    

यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुपर्‍यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताउँछन्। 

Shivam cement

विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो। फोहर व्यवस्थापनमा रोक लगाएपछि फोहरमैला व्यवस्थापन सङ्घले अदालतमा रिट दर्ता गरेको थियो। उक्त रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत तीन दिनदेखि स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरिरहेका छन्। हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट दैनिक तीन सय गाडी फोहर उक्त स्थानमा लाने गरिएको छ।

प्रकाशित: Jul 19, 2023| 18:14 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्