शनिबार, जेठ ३०, २०८३

सोलारमा चट्याङले क्षति पुर्‍याएपछि खानेपानीको समस्या

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन्। चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको थियो।

National life

क्षति पुर्‍याएको महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको हो। दुई वर्षअघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा गत असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको ढङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिए। उनका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्याङ्कीमा पानी तान्न सकिएको छैन।

‘खानेपानीको सोलारमा क्षति भएकाले पुरानै अवस्थामा करिब १ घण्टा लगाएर कुवाको पानी पिउनुपर्ने बाध्यतामा स्थानीय छन्’, गुरुङले भने। उनका अनुसार उक्त आयोजनाबाट ढुङ्ग्रेका करिब ३५ घरपरिवारका साथै राष्ट्रिय माध्यामिक विद्यालय ढुङ्ग्रे र चण्डिभञ्ज्याङ स्वास्थ्य चौकीले खानेपानी प्रयोग गरिरहेका थिए। लामो समयदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयसँगै विद्यालय र स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको उनको भनाइ थियो।

खानेपानीको अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाउनु परेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ गुरुङले बताए। ‘पिउनका लागि हामी विद्यार्थीलाई स्थानीय कुवाबाट भरेर खानेपानी ल्याउन लगाएका छौँ भने शौचालयका लागि वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाइरहेका छौँ’, उनले भने।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल गुरुङले चट्याङले क्षति पुर्‍याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकाले वडा र पालिकालाई अनुरोध गरेको बताउँदै पालिकाले अहिलेसम्म सुनुवाइ नगरेको जानकारी दिए।

Shivam cement

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले स्थानीयको गुनासो आउने वित्तिकै तत्कालै प्राविधिक पठाएर चट्याङले क्षति पुर्‍याएको कन्ट्रोलर मर्मतका लागि काठमाडौँ पठाइएको बताए। मर्मत कम्पनीले समयमै मर्मत गरेर जडान नगरिदिएकाले नियमित खानेपानी वितरणमा ढिलाइ भएको उनको भनाइ थियो। ‘अब दुईरतीन दिनभित्रैमा सामान ल्याएर जडान गरी पानी वितरणको तयारीमा छौँ’, अध्यक्ष गुरुङले भने।

वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले चट्याङले क्षति पुर्‍याएको स्थानमा विद्युत् पुगेकाले सोलार सिस्टम हटाई छिट्टै विद्युतीय सिस्टम जडान गरी खानेपानीको समस्याको दीर्घकालीन रुपमा समाधान गरिने बताए।

इच्छाकामना गाउँपालिकाको ‘एक घर एक धारा’ अवधारणाअन्तर्गत गाउँपालिकाको २५ लाख, जिल्ला समन्वय समिति चितवनको  २५ लाख र वाग्मती प्रदेश सरकारको ५० लाख गरी कूल एक करोडको लागतमा साझेदारी सिरान ढङ्ग्रे, माझ ढुङ्ग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पुर्‍याउनका लागि दुई वर्ष अघि उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो।

ढुङ्ग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताको छुट्टाछुट्टै पाँच वटा ट्याङ्की निर्माण गरिएको छ भने करिब ८० घरमा घरैपिच्छे एउटा धारा निर्माण गरिएको आयोजनाले जनाएको छ।   -रासस

प्रकाशित: Jul 19, 2023| 21:01 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्