काठमाडौं- २०५२ सालदेखि हिंसात्मक सशस्त्र आन्दोलनमा होमिएर हुर्काए–बढाएको तत्कालीन माओवादीसँगका सबै सम्बन्ध त्यागेर डा. बाबुराम भट्टराईले ३० फागुन २०६९ मा आफ्नो पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिए। राजीनामा अगाडि उनी माओवादी पार्टीका वरिष्ठ स्थायी कमिटी सदस्य र उपाध्यक्ष थिए। माओवादीबाट विरक्तिएपछि बाबुरामले कुनै समय कम्युनिस्ट विचारधारामाथि धारेहातसमेत लगाए।
२०५२ देखि चलेको माओवादी जनयुद्धले २०६३ मा आएर शान्ति सम्झौतापछि बिट मारेसँगै राजनीतिक रुपमा अस्थिर हुँदै गएका आर्किटेक्ट इन्जिनियर पूर्वप्रधानमन्त्री भट्टराईले मूल माओवादी छाडेका थिए। त्यसपछि हालसम्म उनले पाँच वटा दललाई जन्म दिएर प्रयोग गरिरहेका छन्। बाबुरामले जन्म दिएका दल स्थायी भने हुन सकेनन्। पछिल्लो समय नेपाल समाजवादी पार्टी खोलेर संगठन विस्तार अभियानमा खटिएका बाबुरामले पार्टीलाई संगठनात्मक रुपमा मुलुकभर बलियो बनाउने दाबीसमेत गर्न छाडेका छैनन्।
माओवादी त्यागेपछि बाबुरामले नयाँ शक्ति पार्टीलाई जन्म दिएर संयोजकको रूपमा काम गरे। २०७६ मा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकीकरणबाट बनेको नवगठित समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष बने। त्यसको केही समयपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको थियो। जसपामा बाबुराम बस्न सकेनन्, टिकाउ भएनन्। निष्कासनमा परे।
पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) खोलेर आफैंले अध्यक्षको रुपमा संगठन हाँकिरहेका छन्। तर, बाबुरामको नयाँ पार्टी नेसपा केन्द्रमा केन्द्र्रीय समिति विस्तारबाहेक अन्यत्र खासै फैलिएको देखिँदैन। जसपाबाट निष्कासनमा परेपछि बाबुरामले १२ साउन २०७९ जनता समाजवादी पार्टी गठन गरेका थिए।
समाजवादी मोर्चाका परिकल्पनाकार समेत मानिने बाबुराम मोर्चामा जसपा अध्यक्ष उपेन्द्र यादव भित्रिएपछि त्यसमा गएनन्। उनले समाजवादी मोर्चा विशेषतः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहरूले कांग्रेस, एमालेसँग बार्गेनिङ गरेर सत्तामा रहिरहन गठन गरिएको आरोपसमेत लगाएका छन्। बाबुरामले समाजवादी मोर्चाबाट आफू बाहिरिनुमा सोही नीति कारक रहेको दाबी गरेका छन्। बाबुरामले १५ असारमा समाजवादी मोर्चा गठनलगत्तै सामाजिक सञ्जालमा भनेका थिए, ‘चार कम्युनिस्ट विचारधाराका शक्तिबाट निर्माण गरिएको समाजवादी मोर्चा, मोर्चा नभएर सत्ताका लागि बार्गेनिङ गर्ने लोभी संगठन हो। समाजवादी मोर्चाको उद्देश्य प्रचण्डलाई सत्तामा टिकाउन बार्गेनिङ गर्नु र त्यहाँ जोडिएका अरु दलले मन्त्री र मालदार मन्त्रालयमा भागबन्डा गर्न लाइन मिलाउनु मात्रै हो। राजनीतिक उद्देश्यले मोर्चा गठन नगरिएकाले यसमा सहभागी हुन सकिनँ।’
बाबुरामले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाएर अघि बढ्ने योजना रहेको बताए पनि कुन दलसँग मिल्ने हो स्पष्ट पारेका छैनन्। निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायत एजेन्डालाई सडक, सदन र सरकारमा सशक्त रूपमा उठाउने भनिए पनि केन्द्रमा नेसपाबाट निर्वाचित सांसद संख्या शून्य छ।
बाबुरामले समाजवादी मोर्चामा हाम नफालेपछि नेसपाले पार्टीलाई फैलाउन आज (१ साउन)देखि ६ महिनासम्म संगठन विस्तार अभियान चलाउने घोषणा गरेको हो। पार्टीले विभिन्न प्रदेशमा केन्द्रीय कार्यकारिणी समितिका नेतालाई अभियानको नेतृत्वमा चयनसमेत गरिसकेको छ।
कोसीमा हिसिला यमी, मधेसमा अध्यक्ष महेन्द्र यादव, बागमतीमा गंगा श्रेष्ठ, गण्डकीमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनीमा गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर साह र सुदूरपश्चिममा दुर्गा सोव एवं जनक शाहको नेतृत्वमा अभियान सञ्चालन गरिँदै छ। अभियानको प्रभावकारिता अनुगमन गर्न समिति पनि बनाइएको बाबुरामले ट्वीट गरेर बताएका छन्। राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति गठन गरिएको हो।
नेसपाले जिल्ला–जिल्लामा संगठन विस्तार अभियान सुरु गर्ने अध्यक्ष बाबुरामले बताएका छन्। पार्टीले प्रदेशस्तरीय प्रशिक्षण बैठकसमेत गर्ने निर्णय भएको छ। नेसपाका अनुसार कोसीमा १५ साउन, मधेसमा १७, बागमतीमा १९, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा २७ र सुदूरपश्चिममा २९ साउनमा बैठक सञ्चालन गरिने पार्टी नेता विश्वदीप पाण्डे बताउँछन्।
यसअघि बाबुरामले गत १९ असारमा मात्रै नेसपाले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने घोषणा गरेका थिए। नेसपा केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा त्यसका लागि असार अन्त्यदेखि अभियान सञ्चान गरिने भनिएको थियो।
आगामी पुस महिनासम्म सञ्चालन गरिने अभियानको विस्तारित खाका सार्वजनिक गर्दै नेसपाले संगठन निर्माण तथा विस्तार अभियान २०८० अन्तर्गत अग्रगामी शक्तिको बृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहनेसमेत जनाएको छ। ‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आमजनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकारबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा विस्तार अभियान’ सञ्चालन गर्न लागिएको छ,’ नेसपा प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अभियानमार्फत पार्टीलाई वैचारिक रुपमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्न सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तार गरिने नेसपाको दाबी छ।
अभियानको संयोजन प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्यले गर्नेछन् भने जिल्ला र पालिकाको अभियानको नेतृत्व केन्द्रीय सदस्य, संघीय परिषद् सदस्य वा प्रदेश सदस्यले गर्नेछन्। नेसपाले पार्टीमा आबद्ध अभियन्ताले पालना गर्नुपर्ने नियम र आचारसंहिता पनि सार्वजनिक गरेको छ।
नेसपाले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ नारासहित पार्टी विस्तार अभियान सुरु गरेको प्रचार विभाग प्रमुख पाण्डे बताउँछन्। उनले भने, अग्रगामी शक्तिको बृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने, अन्य पार्टीमा आबद्ध पहिचानसहितको संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर व्यक्तिलाई पार्टी प्रवेश गराउने, स्वतन्त्र रूपमा रहेका प्रतिष्ठित व्यक्तिलाई पार्टीमा आबद्ध गराउने, ध्रुवीकृत व्यक्ति, व्यक्तित्व र नेतृत्वलाई आवश्यकताअनुसार विभिन्न स्तरको अभियानमा जोड्ने लक्ष्य पार्टीको छ,’ उनले भने।
बाबुरामले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाएर अघि बढ्ने योजना रहेको बताए पनि कुन दलसँग मिल्ने हो भन्नेबारे स्पष्ट पारेका छैनन्। नेसपाले तात्कालिक जनसरोकारका विषय र निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली तथा पहिचानसहितको संघीयताको एजेन्डालाई सडक, सदन र सरकारमा सशक्त रूपमा उठाउने, सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तार गर्ने उद्देश्यसमेत अभियानमा समेटिए पनि पार्टीबाट केन्द्रमा निर्वाचित सांसद संख्या शून्य छ।
१९ असार बैठकमा नेसपाले निकालेको संगठन विस्तारसम्बन्धी विज्ञप्ति
‘संगठन निर्माण तथा विस्तार अभियान, २०८०। नेपाल समाजवादी पार्टी लोकतान्त्रीकरण तथा संघीयकरणका अधुरा कार्यभार पूरा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन चाहने सहभागितामूलक, समावेशी, समानुपातिक तथा प्रत्यक्ष लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो। सामूहिक नेतृत्व प्रणालीमा आधारित आलोचनात्मक चेतसहितको अनुशासित र सिर्जनशील पार्टी हो। उत्पीडित वर्ग, जाति, क्षेत्र, ल्रिग, वर्ण र समुदायको मुक्ति चाहने पार्टी हो। युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारीको ग्यारेन्टी चाहने पार्टी हो। विकास, सुशासन र समृद्धिको नेतृत्व गर्न चाहने पार्टी हो। त्यसका निम्ति हाम्रो पार्टी ‘समुन्नत समाजवाद’ को आदर्श र मार्गदर्शनबाट अनुप्रेरित पार्टी हो। नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध पार्टी हो।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद्, जातीय–भाषिक पहिचानका आधारमा प्रदेशहरूको पुनः सीमांकन र नामांकनलगायतका संशोधन नभएसम्म राजनीतिक अस्थीरता र जनताको असन्तुष्टि कायम रहन्छ भन्ने कुरा अहिले व्यवहारतः पुष्टि हुँदै गइरहेछ। लोकतान्त्रिक राजनीतिक स्थीरताविना सुशासन र तीव्र आर्थिक–सामाजिक रूपान्तरण हुनै सक्दैन । मधेस प्रदेशबाहेक अरू सबै प्रदेशको नामाकरण पुरानै पञ्चायती अञ्चलहरूको जस्तो गरी भएको छ। प्रदेश नामकरणको विषयलाई लिएर (कोसी) १ नम्बर प्रदेशमा ठूलो आन्दोलन भइरहेको छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी अभावले युवामा र आम जनतामा निराशा र असन्तुष्टि बढ्दै गइरहेछ। धमिलो पानीमा माछा मार्न पुनरुत्थानवादी शक्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमै सल्बलाउन खोजिरहेछन्। बाह्य शक्तिहरू आफ्नो सामरिक स्वार्थ पूर्ति गर्न विभिन्न भेष र वहानामा हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप र घुसपैठ गरिहेछन्।
यो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनताको सुशासन, समृद्धि र सामाजिक न्यायको आकांक्षा पूरा गर्नु र समुन्नत समाजवादको दिशामा अघि बढ्नु लोकतान्त्रिक, प्रगतिशील, समाजवादी शक्तिहरूको साझा दायित्व हो । परन्तु संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक रक्षा शासकीय स्वरूप र संघीयतामा आवश्यक सुधार, सुशासनको प्रत्याभूति, समानुपातिक समावेशी प्रतिनिधित्वको सही कार्यान्वयन र तीव्र आर्थिक विकासविना सम्भवै छैन। विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग, वर्ण समुदायका जनता र विशेषतः उदीयमान युवा पुस्ताको बढ्दो आकांक्षा पूरा गरेर मात्र ठूलो बलिदानस्वरूप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आमजनताको अपनत्व स्थापित गर्न सकिन्छ। समुन्नत समाजवादको दिशामा अघि वढेर मात्र प्राप्त उपलब्धिको दिगो रक्षा गर्न सकिन्छ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रका निम्ति लडेका व्यक्ति र शक्तिको नै क्रमशः स्खलन र भ्रष्टीकरण, व्यवस्था परिवर्तनपछि जनजीवनमा त्यसको अपेक्षित प्रतिफल अभाव र क्रान्तिकारी आन्दोलनपछि हुर्केको युवा पुस्तामा ऐतिहासिक क्रान्तिचेतको प्रवाहमा कमी–कमजोरीले पनि आज संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै अघि बढ्न कठिन भइरहेछ। तसर्थ, हजारौंको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि नयाँ युगको नयाँ विचार, नीति, कार्यक्रमका आधारमा एकताबद्ध भएर संघर्ष गर्दै जानु आजको मुख्य कार्यभार हो। प्राप्त राजििनतक उपलब्धिको जगमा टेकेर सामाजिक न्याय सहितको तीव्र विकास र समृद्धिको बाटोमा अघि बढन् अब ढिलाइ गर्नुहुँदैन। गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिकका निम्ति लडेका कतिपय नेताहरू भ्रष्टीकरण र निजी सत्तालिप्सा त्यागेर रुपान्तरण हुन जरुरी छ। समयले कसैलाई पर्खदैन। समय निर्मम हुन्छ । पुराना शक्ति रुपान्तरित नभए नयाँ वैकल्पिक शक्तिको उदय अवश्यम्भावी छ।’
नेसपा मुख्यालयमा मात्रै सीमित संगठनलाई नेपालभरि फैलाउने वाचासहित आजदेखि संगठन निर्माण तथा विस्तार अभियानमा होमिएको बाबुरामको यात्रा बीचमै रोकिने वा पुससम्मै लम्किने हो, त्यो भने समयले बताउला। आजै अध्यक्ष बाबुरामले गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङ ज्योति चौतारामा विभिन्न प्रजातिका बिरुवा रोपेर संगठन फैलाउने अभियान सुरु गरेका छन्।