बुधबार, फागुन २७, २०८२

रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

चितवन- चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ।

National life

केन्द्रका प्रमुख डा. कोपिला अधिकारीले चालु आर्थिक वर्ष २०७९–८० मा आयुर्वेद अस्पताल निर्माणका लागि चार करोड बजेट विनियोजन भएर काम भइरहेको जानकारी दिइन्।

बागमती प्रदेश सरकारले आगामी आव २०८०–८१ मा उक्त भवनका लागि पुनः तीन करोड ५० लाख बजेट विनियोजन गरिसकेको उनले जानकारी दिइन्। बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

डा. अधिकारीका अनुसार आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब १३ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको जग्गामा आयुर्वेद अस्पतालको भवन बन्न लागेको हो। नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, ल्याब, एक्सरे, भिडियो एक्स–रे कक्ष रहने उनको भनाइ छ।

भवन निर्माण सम्पन्न भएपछि बिरामी भर्ना गरेर उपचार गर्न सुरु गरिने डा. अधिकारीले बताइन्। हालसम्म जिल्लामा आयुर्वेद अस्पतालमा बिरामी भर्ना सुविधा छैन।

Laxmi sunrise bank
kumari

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र मातहतमा गत आव २०७८–७९ मा ५६ हजार बिरामीले सेवा लिएका थिए। चालु आवमा यो सङ्ख्या अझै बढ्ने अस्पतालको आँकलन छ।

केन्द्रअन्तर्गत रत्ननगरको बकुलहरमा स्वास्थ्य केन्द्र, कालिका–७, खैरहनी–१२ र इच्छाकामना–३ मा तीनवटा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन्। यस्तै भरतपुर–१५ शिवनगरमा जीवनशैली व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेको छ।

स्थानीय सरकारमातहत भरतपुरको देवघाट, शिवघाट, कविलास, गुञ्जनगर, पटिहानी, मेघौलीमा आयुर्वेदिक औषधालय रहेका छन्। यस्तै माडी–१, राप्ती–१ मा पनि आयुर्वेदिक औषधालय छन्। आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्य गरी थेरापीका बिरामीको चाप बढी हुने गरेको डा अधिकारीले जानकारी दिइन्।

उनले बाथव्यादीका बिरामी, नसा च्यापिएको, हड्डी खिइएका बिरामीलाई औषधोपचार र बाफले सेक्ने स्नेहन स्वदेन, ढाड दुख्नेका लागि कट्टीबस्ती, घुँडाको दुखाइका लागि जानुबस्ती, घाँटीका लागि गृभाबस्ती, दुखाइ, सुनिएको पत्रपिण्ड स्वेदन, अनिन्द्रा, एन्जाइटी, तनाव व्यवस्थापनका लागि शिरोधारा, नसारोगका लागि मात्राबस्ती गरिँदै आएको बताइन्।

केन्द्रमा बिरामी परीक्षण एवं अत्यावश्यक सेवा, आयुर्वेद औषधि निःशुल्क वितरण, प्रयोगशालामा रगत, दिसापिसाब परीक्षण, भिडियो एक्स–रे, सशुल्क फार्मेसी सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, क्षारसूत्र सेवा, पञ्चकर्म, पूर्वकर्म सेवालगायतका सेवा पनि उपलब्ध रहेको छ।

प्रकाशित: Jul 04, 2023| 08:53 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्