महोत्तरी- ‘बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी आ भरोसा देलक’ (बाबु, लाग्दथ्यो, बुढ्यौली उमेर नर्कजस्तै भएको थियो तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन दिएकाले भरोसा जागेको छ) भर्खरै मोतियाबिन्दुको शल्यक्रियापछि आँखाको ज्योति फेरि पाएकी महोत्तरीको बर्दिबास नगरपालिका–२ बुद्धचोककी ८४ वर्षीया आद्यादेवी झाले खुसीहुँदै सो कुरा बताइन्। पछिल्ला पाँच वर्षदेखि मोतियाबिन्दुले आँखा टालिए पछि बाँकी जीवन बोझ भएको ठानेकी उनमा अब फेरि संसार हेर्ने आस जागेको छ। झाको देब्रे आँखाको शल्यक्रिया भएको थियो।
आँखामा मोतियाबिन्दु भएर पछिल्ला पाँच वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चल्नुपर्ने झा यसै असारको पहिलो साता शल्यक्रिया सम्पन्न भएयता भने अब आफैँ हिँडडुल गर्न सक्ने भएकी छन्। ‘नई सोचल सुख हमरा ई बुढारी में भेटल (मैले नसोचेको सुख यो बुढ्यौलीमा पाएँ’ उनले भनिन्।
झाजस्तै बर्दिबासकै वडा नं १ बस्तीकी ७९ वर्षीया मानकुमारी रानामगर पनि आँखाको शल्यक्रियापछि पट्टि खोल्दा दङ्ग परिन्। ‘हेर्दाहेर्दै र देख्दादेख्दै आँखा बन्द भए, म त भगवान्सँग पुकारा गर्थे कि चाँडै लैजाउँ भनेर’, उनले भने, ‘अब आँखा खुल्यो, अझै बाँच्नदेऊ भन्दैछु।’ सामान्यतया ५० वर्ष उमेर कटेपछि हुने मोतियाबिन्दु र आँखामा मासु पलाउने समस्या बर्दिबास–१ की सैमुम खातुनलाई ३५ वर्षमै देखियो। लुगा सिउने पेसाकी उनी आँखा बन्द भएपछि जिन्दगीलाई नै धिक्कार्न थालिन् तर गए साता खातुनको आँखामा पलाएको मासु शल्यक्र्रिया गरेर फालिएपछि अब फेरि काममा फर्कने उहाँमा विश्वास जागेको छ।
झा, राना र खातुनजस्तै बर्दिबास–४ की ७३ वर्षीया बबीमाया मगर, बर्दिबास–१ की ६० वर्षीया बेचनी महरा, बर्दिबास–३ कालापानीकी ६० वर्षीया फूलमाया विक र बर्दिबास–४ का ४४ वर्षीय तिलकबहादुर थापालाई पनि मोतियाबिन्दु र आँखामा मासु पलाएको समस्या शल्यक्रियाबाट निको भएपछि नयाँ जीवन पाएको महसुस भएको छ। ‘अपरेसन भएपछि अब भने बाँचिरहुँजस्तो आस जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो’, बबीमाया मगरले खुसीका आँशु पुछ्दै भनिन्।
पछिल्लोपटक बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा बर्दिबास आँखा अस्पतालले नगरका ग्रामीण भेगलाई लक्ष गरी गत जेठ अन्तिम सातादेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचार प्रबन्धले यसपालि नगरका ५२ जनाले गुमेको आँखाको ज्योति पाए।
‘आँइख नई देखै छली त कत्त छि ? कि खाइछि ? कोनो सुधी नई छल’ (आँखा नदेख्दा कहाँ छु, के खाँदैछु, केही भेउ पाउँदिनथेँ) अहिले घरमा भेट्न पुग्ने आफन्तलाई बेचनी महराले भनिन्, ‘डाक्डर आँइखक पट्टि खोइल देलन, आब हरकुछके चाह सेहो बढल’ (डाक्टरले आँखाको जालो हटाइदिनुभयो, अब देखेजति सबै कुरामा चाह बढ्न थाल्यो)।
नगरको ग्रामीण भेगका गरिब बस्तीमा मोतियाबिन्दु र आँखामा मासु पलाउने समस्याका बिरामी बाक्लै देखिएपछि यसपालि नगरपालिकाले आँखाको जाँच, औषधि, चश्मा र शल्यक्रियासमेतको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएर बर्दिबास आँखा अस्पताललाई यसमा प्रबन्ध गर्न जिम्मा दिएको थियो। नगरका ग्रामीण भेगका छ ठाउँमा सञ्चालित आँखा जाँच शिविरमा तीन हजार आठ सय जनाको आँखा जाँच गरिएको उक्त अस्पतालका सञ्चालक अध्यक्ष मुकुन्दप्रसाद पौडेलले जानकारी दिए। शिविरमा शल्यक्रियाका अतिरिक्त छ सय जनालाई आँखामा लगाउने र खाने औषधि र दुई सय ७८ जनालाई चश्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ। नगरभित्र सञ्चालित शिविरमा शल्यक्रिया गर्नपर्ने ठहर भएका ४४ को शल्यक्रिया गर्न बाँकी रहेको अध्यक्ष पौडेलले जानकारी दिए।
आँखा जाँच र शल्यक्रिया हिमालयन आई केयर फाउण्डेसनका अध्यक्ष तथा वरिष्ठ आँखारोग विशेषज्ञ डा दीपक खड्का नेतृत्वको टोलीले गरेको थियो। विसं २०६३ मा स्थापित उक्त अस्पतालले पछिल्लो १० वर्षयता विभिन्न सामाजिक सङ्घसंस्था र निकायको सहकार्यमा आँखाका जटिल समस्या पहिचान, जाँच र शल्यक्रियासहित आवश्यक उपचार गर्दै आएको छ। -रासस