ओहो, तपाईं त कति बोल्ड।
बोल्ड भन्नाले?
महिला भएर पठाओ राइडर हुनु बोल्डनेसकै कुरा हो नि!
पठाओकी राइडर कुमारी चेम्जोङलाई एक जना भर्खरका युवाले यस्तो भनिरहँदा उनले व्यस्त सडकमा आफ्नो बाइक दह्रो समाएकी थिइन्। सबै आफ्नो दौडाइमा थिए। उनी पनि सोही रफ्तारमा मिसिएकी थिइन्। यस्तोमा चिप्ला कुरा सुनेर चिप्लिने फुर्सद हुँदैन उनीसँग।
कुमारी सुनाउँछिन्, ‘बाटोभरि बोलेर हैरान पर्ने पुरुष ग्राहकको कुरा भनिसाध्य छैन। पुरुष ग्राहक अनेक प्रवृत्तिका हुन्छन्।’
कस्ता हुन्छन् त? उनी सुनाउँछिन्, ‘एक जना ४० वर्ष जतिका थिए होलान्। बाइकमा मलाई देखेपछि एकछिन अलमलमै परे अनि भने–बाटोमा नलडाइदिनुहोला नि!’
मैले भनें, ‘ढुक्क हुनुस्।’
‘पठाओमा महिलासँग फर्स्ट टाइम परेको हो हो र?’
‘हो नि, तपाईं त गजबको बाइक कुदाउनु हुँदो रहेछ’
‘अलि विस्तारै हाँक्न भनेको हो?’
होइन, कुदाउनू न आफ्नै रफ्तारमा...’
‘पठाओ चालक किन हुनुपरेको के तपाईं?’
‘घरव्यवहार चलाउनुपरेन?’
‘मेरिड हो र?’
‘होइन।’
‘बसौं न त रिलेसनसिपमा। घर भाडासाडा मै तिरिदिउँला नि...।’
कुमारी भन्छिन्, ‘यस्तो कुरा गर्ने त कति हुन्छन् कति। कतिले हाम्रो सम्पर्क नम्बरै सेभ गरेर पटक–पटक फोन गर्ने, भेट्न बोलाउने गर्छन्। तर सबैलाई डिल गर्न सिकेका हुन्छौं, हामी। मान्छे हेरेर मात्रै बोल्ने बानी गरेको उनी सुनाउँछिन्। यसै पनि पठाओको नियमअनुसार कुनै पनि ग्राहक यात्रीसँग व्यक्तिगत कुरा गर्न, सोध्न नमिल्ने हो तर उनीहरू आफैं अगाडि आउँछन्।
कुमारी मात्रै होइन, अन्य महिला राइडरको अनुभव पनि उस्तै छ। कतिले ढाडमा हात राख्ने, तिघ्रामा हात राख्नेजस्तो क्रियाकलाप पनि गर्छन्। त्यस्तालाई त झापड लगाउनेदेखि सिकायतसम्म गर्छन्।
कुमारी सुनाउँछिन्, ‘एक जना बूढो मान्छे मेरो बाइकमा चढ्नुभएको थियो। चढ्नेबित्तिकै उहाँले यस्तो झुर काम किन गरेको भनेर सोध्नुभयो। त्यतिबेला एकदमै चित्त दुखेको थियो। चालक हुनु पनि नराम्रो काम हो र? यो पेसाबाट राम्रै आम्दानी भइरहेको छ।’ उनले महिनाभरि कस्सिएरै राइड गरेर ७० हजारसम्म कमाएको बताइन्। तर कुनै महिना कम चलाए पनि ४० हजारजति कमाइ हुने उनी बताउँछिन्।
कुमारीले एक वर्षअघि मात्रै पठाओको स्वीकृति लिएर बाइकबाट ग्राहकलाई गन्तव्यसम्म पुर्याउने सेवा दिइरहेकी छन्। यसअघि वैदेशिक रोजगारमा रहेकी उनी कोरोनाका बेला स्वदेश फर्केकी हुन्। कुमारीले पठाओको कामलाई पेसाकै रुपमा नअँगाले पनि सकुन्जेल पूर्णकालीन र अन्य काम थालेपछि पार्ट–टाइम गर्ने योजना रहेको सुनाइन्।
पठाओ राइडर राम महर्जन भन्छन्, ‘महिलाका लागि राइडर नराम्रो होइन। यसमा शिक्षकदेखि, विद्यार्थी, बेरोजगार, गृहणीलगायत सबै वर्गकाले पार्ट–टाइमको रुपमा काम गरिरहेका छन्। यसबाट रामै्र आम्दानी गर्न सकिन्छ। गरिरहेका छन्।’
महिला राइडर साहसी हुनुपर्ने कुमारी बताउँछिन्। उनी भन्छन्, ‘महिला राइडर अलि आँटिला हुनैपर्छ किनभने दिनभरि अनेक प्रकारका मान्छेसँग डिल गर्नुपर्ने हुन्छ।’ अहिले महिला राइडर अथवा चालक हुनु सामान्य भइसकेको उनी ठान्छिन्। तर धेरैले प्रायः पुरुष चालक मात्र देखेका हुन्छन्। त्यही भएर पनि महिलाले पठाओको बाइक वा स्कुटी चलाउनु कसैलाई बोल्ड लाग्छ भने कसैलाई झुर। तर पठाओको राइडर भएर अतिरिक्त आम्दानी गर्ने यी साहसी महिला वास्तवमा बोल्डै हुन्।
कुमारी सुनाउँछिन्, ‘यात्रामा अनेक प्रकारका यात्री हुन्छन्। धेरैको प्रश्न के तपाईं सिंगल हो? भन्ने हुन्छ। अहिले त मैले होइन भन्ने गरेकी छु। मेरो एउटा बच्चा पनि छ भन्छु। सिंगल भन्नेबित्तिकै तपाईं आज राती के गर्दै हुनुहुन्छ, म भेट्न आउँछु। बसौं न चिया खान। यस्तो कुराले हैरानै बनाउँछन्। कोही फेरि एकदमै सभ्य र भलाद्मी पनि हुन्छन्। सबै पुरुषमा भाले प्रवृत्ति हुँदैन।’
ब्युटिसियन, विद्यार्थी, व्यापारीदेखि बेरोजगारसम्मले हाँक्छन् पठाओ
पठाओ नेपाल प्रालिकी प्रवक्ता सुरक्षा हमालका अनुसार राइडरको काम स्थायी र पूर्णकालीन पनि होइन। उनले भनिन्, ‘हामीले प्रायः यसलाई निरन्तरता दिन भनेर आफ्ना राइडरलाई प्रोत्साहित गरिरहेका हुन्छौं। गर्नेले पूर्णकालीन पनि गर्न पाए। तर प्रायः फुर्सदको समय सेवा दिने उद्देश्यले पठाओ राइडर हुन आएका हुन्छन्।’
पठाओ पूर्णकालीन जागिर वा व्यापार नभए पनि यसले धेरैलाई अतिरिक्त आम्दानी गराइरहेको हुन्छ। आफ्नो कार्यव्यापार गर्दागर्दै पनि पठाओ राइडर भएर कमाउन सकिन्छ भने घरेलु महिलादेखि लिएर ब्युटिसियन, विद्यार्थी, व्यापारी महिला र पुरुष, बेरोजगारसम्म राइडर रहेको प्रवक्ता हमाल बताउँछिन्।
यात्रा कति सुरक्षित
हमालका अनुसार पठाओबाट यात्रा गर्दा ग्राहकलाई जोखिम कम हुन्छ। अतिरिक्त भाडा लिने, लुट्ने, ठग्ने अथवा महिला, बालबालिकाको मामिलामा दुव्र्यवहारलगायत सबैखाले जोखिमबाट सुरक्षा ग्यारेन्टी हुन्छ।
‘पठाओ बुक गर्नेबित्तिकै ग्राहकका सबै डाटा कम्पनीसँग सुरक्षित हुन्छ भने राइडरले चढाउनेदेखि ओराल्नेसम्मको गन्तव्यभरिको जानकारी हामीसँग हुन्छ। सोही कारण यो अति सुरक्षित हुन्छ। केही गाह्रोसाह्रो परे हामीले कारबाही गरिहाल्छौं।’
प्रवक्ता हमालका अनुसार पहिले कार, ट्याक्सी मात्रले यात्रुलाई गन्तव्यमा पु¥याउँथे। पठाओले बाइकबाट पनि गन्तव्यसम्म पु¥याउने सहज वातावरण बनाइदियो। ट्याक्सीमा भाडा धेरै लाग्छ भने बाइकमा कम लाग्ने भयो। एक जनाका लागि पठाओ बाइक एकदमै भरपर्दो र सुरक्षित हुने हमालको दाबी छ। ‘दुवैखाले पठाओका साधनमा बार्गेनिङ गर्ने वा अतिरिक्त शुल्क लिनेजस्तो झन्झट रहेन। यसले पनि आममानिसमा पठाओप्रतिको विश्वास बढेको छ’, उनले भनिन्।
लाखको बिमा
पठाओका केही राइडरविरुद्ध गुनासा नआएका भने होइनन्। नियमविपरीत काम गर्नेलाई कारबाही गरिरहेको र कुनै दुर्घटना भए १ लाखसम्मको बिमा सुविधा दिइने हमाल बताउँछिन्। राइडर हुन पठाओ कार्यालय गएर आवेदन दिन सकिने र छानिएकालाई तालिम, कम्पनीको नियम, आचारणलगायत सिकाउने गरिएको उनको भनाइ छ।
डेढ लाख पुगे राइडर
अहिले पठाओसँग आबद्ध १ लाख ५० हजार राइडर छन्। यीमध्ये महिला राइडर मात्रै २ हजार छन्। प्रवक्ता सुरक्षा हमाल यो पेसामा महिला राइडर एकदमै कम रहेको बताउँछिन्। महिलालाई प्राथमिकतामा राखे पनि सोचेअनुसार नआउने गरेको उनको अनुभव छ।
महिला राइडसँग हुने दुर यवहारबारे प्रवक्ता हमाल भन्छिन्, ‘महिला राइडरको यात्राका क्रममा पुरुषबाट दुर्व्यवहार गरेका घटनाको गुनासा आएका छैनन्। आए हामीले कानुनी कारबाही गर्छौं। यसका लागि महिला राइडरले नै पहल लिनुपर्छ।’
पठाओको नियम कडा छ। राइडरले ग्राहकसँग व्यक्तिगत कुरा गर्न पाउँदैनन्। अनावश्यक कुरा नगर्न तिनलाई तालिममै सिकाइन्छ। यसले सबैलाई प्रविधिसँग जोडेको छ। गुगल–म्याप हेर्न र त्यसका आधारमा गन्तव्यमा पुर्याउनेलगायत थुप्रै अनलाइन जानकारी राइडरले सिक्न सके। सिकिरहेका छन्।’
पठाओेले राइडरसँग लिने कमिसन महँगो रहेको आवाज भने बेलाबेला उठिरहन्छ। राइडर कुमारीका अनुसार बाइकमा प्रत्येक राइडबापत २० प्रतिशत कम्पनीलाई बुझाउनुपर्छ। यसमा लामो वा छोटो दूरीको फरक नहुने उनी बताउँछिन्।
यस विषयमा प्रवक्ता हमाल भन्छिन्, ‘राइडरले ग्राहकसँग लिने भाडामा प्रत्येक राइडर ट्याक्सीको १५ प्रतिशत र बाइकको २० प्रतिशत पठाओलाई दिनुपर्छ। यो नियमै हो। कम्पनी पनि चल्नुपर्यो।’