काठमाडौं– प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालै मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी विवरण प्रस्तुत गरेका छन्।
उनले मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु, २६ बेपत्ता र आठ जना घाइते भएको जानकारी बैठकमा दिएका हुन्।समिति सभापति प्रकाश पन्थको सभापतित्वमा सिंहदरबारमा बसेको बैठकमा क्षतिको अन्य तथ्यांक आउन बाँकी रहेको महादेवले बताए।
उनले बाढीपहिरो, प्राकृतिक विपद्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा जानकारी दिँदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको प्रस्ट पारे। अघिल्लो आर्थिक वर्ष विपद् प्रभावितलाई करिब १ अर्ब १५ करोड बराबरको क्षतिपूर्ति तथा राहत सहयोग उपलब्ध गराइएको उनले बताए।
प्राकृतिक प्रकोप र त्यसबाट भएको जनधनको क्षति, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःलाभ तयारीलगायत समसामयिक विषयमा जानकारी लिन डाकिएको समिति बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफ्ना कुरा राख्ने कार्यक्रम छ।