काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो चुनावी घोषणापत्रमा सार्वजनिक भएअनुसार हालसम्म गरेका कामको विवरण फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
बालेनले हालसम्म २५ वटा नयाँ पार्क निर्माण भएको बताएका छन्। त्यस्तै, सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडक बत्ती जडान गरेको छ। ४२ किमी सडक कालोपत्रे, ७ किमी नयाँ ढल निर्माण र १५०० मिटर फुटपाथ निर्माण भएको छ।
बालेनले घोषणापत्रमा सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथ निर्माण लगायतका काम गर्ने उल्लेख गरेका थिए। ‘विगत लामो समयदेखि सार्वजनिक जग्गा अनधिकृत प्रयोग भइरहेको हामीलाई गुनासो आइरहन्थ्यो। त्यस्ता गुनासाहरूलाई हामीले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छौं। जस अनुरूप हामीले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ। यो कार्य निरन्तर चलिरहने छ,’ उनले भनेका छन्।
घोषणापत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उनले उल्लेख गरेका थिए। सोही अनुरूप २५ वटा नयाँ पार्कको निर्माण गरिएको उनले बताएका छन्।
सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मतलगायतका पूर्वाधार विकासका कामसमेत सम्पन्न भएको उनले बताएका छन्।
आज नै उनले आगामी आर्थिक वर्षका लागि महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।