काठमाडौं– निर्माण सम्पन्न भएको ६ महिनापछि आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारो बडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको छ।
चीनबाट चार्टर्ड गरी उडाइएको जहाजमा चीन निम्तोमा गएको राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली पोखरा अवतरण गरेको छ। जहाजमा पोखराको फेवातालमा ८–९ असारसम्म आयोजना हुने नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने चिनियाँ खेलाडीसहितका यात्रु पनि छन्।
करिब दुई घन्टा पोखरा विमानस्थलमा अडिएको यो जहाज काठमाडौं आएर चीन फर्किइसकेको बताइन्छ।
नेपालले चिनियाँ एक्जिम बैंकको ऋण लगानीमा पोखरा विमानस्थल निर्माण गर्न २०७२ मा सम्झौता गरेको थियो। विमानस्थल निर्माणका लागि सरकारले एक्जिम बैंकसँग १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ।
सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि पोखरा विमानस्थल निर्माण सुरु भएकामा भारतको नाकाबन्दी, कोरोनालगायत कारण ७९ को आधाउधितिर सम्पन्न भएको थियो। सरकारले यो विमानस्थल निर्माणका लागि सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट)सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो।
सरकार र निजी विमान कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहर जोड्न खोजे पनि भारतले चीनले बनाइदिएको निहुँमा उडान अनुमति दिएको छैन।
१ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो। चीन सरकारले ऋणमा बनाइदिएको विमानस्थलमा पहिलो व्यावसायिक उडान पनि चीनबाटै भएको हो।
व्यावसायिक उडान कार्यक्रममा सहभागी हुन पोखरा पुगेका ऋणदाता नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको स्पष्ट पारेका छन्।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि नेपालस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको भनेको थियो।
राजदूत सोङले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुआत भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरबाट यो निर्माण भएको हो। अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौं, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा। यो बीआरआई परियोजनाअन्तर्गतकै हो।’
संसार जोड्ने योजनाअन्तर्गत चीनले बीआरआई परियोजनामा नेपाललाई अटाएको छ।