काठमाडौं- टाइटानिकको भग्नावशेष देखाउन लगिएको बेपत्ता पनडुब्बीमा यात्रा गरेका माइक रेसले यसमा जीवनको खतराबारे मानिसहरू सचेत रहेको बताएका छन्। उनले बीबीसीसँगको कुराकानीमा भनेका छन्, 'हामी सबैलाई यसका जानका खतराहरूबारे थाहा छ। यो कुनै मजाक होइन। तपाईंले त्यसमा चढ्नुअघि एउटा कागजातमा हस्ताक्षर गर्नुहुन्छ, जसको पहिलो पृष्ठमा तीन पटक मृत्यु उल्लेख छ।'
माइक रेसले गत वर्ष त्यो पनडुब्बीमा यात्रा गरेका थिए। अहिले धेरै आशा नरहेको उनको भनाइ छ। उनले बीबीसी ब्रोडकास्टसँग भने, 'मलाई थाहा छ महासागर कति ठूलो छ र यो जहाज कति सानो छ।'
यात्रामा जानुअघि गरिएको सम्झौता (कन्ट्रयाक्ट)मा 'यात्राको क्रममा तपाईंको मृत्यु हुन सक्नेछ' भन्ने उल्लेख भएको रेसले बताएका छन्।
रेस भन्छन्, 'जब म यो पनडुब्बीमा चढें, मलाई लाग्यो कि यो मेरो अन्त्य हुन सक्छ। सबैलाई थाहा थियो कि तिनीहरू कहाँ जाँदैछन्। यो एक अन्वेषण हो। यो छुट्टी होइन। यो कुनै थ्रिल होइन। यो डाइभिङ पनि होइन। केही हेर्न चाहने अन्वेषक र यात्रीहरू हुन्।'
पनडुब्बीमा अक्सिजनको मात्रा प्रत्येक घण्टा घट्दै गइरहेको छ। २० हजार वर्ग किलोमिटरभन्दा ठूलो महासागर क्षेत्रमा अमेरिकी तट, क्यानडाको नौसेना, वायुसेना, तट रक्षक र न्यूयोर्क एयर नेसनल गार्डले सहयोग गरिरहेका छन् तर अहिलेसम्म खासै सफलता हात लाग्न सकेको छैन।
अमेरिकी कोस्ट गार्डका अनुसार समुद्र मुनिबाट केही आवाज पक्कै सुनिएको छ, जसलाई निकै महत्त्वपूर्ण मानिएको छ। यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न यो हो कि यो खोज यति चुनौतीपूर्ण र कठिन किन भइरहेको छ? यस प्रश्नको जवाफ खोज्न बीबीसीले युनिभर्सिटी कलेज लन्डनका मरिन इन्जिनियरिङका प्राध्यापक एलिस्टेयर ग्रेगसँग कुरा गरेको छ।
उनले पानीमार्फत सञ्चार गर्नु निकै गाह्रो काम भएको बताएका छन्। उनका अनुसार एक पटक सञ्चार गुमेको खण्डमा यसलाई भेट्टाउन कुनै चुनौती भन्दा कम हुँदैन। ग्रेग भन्छन्, ‘खोजी अभियानमा जुटेकालाई पनडुब्बीलाई एट्लान्टिक महासागरको सतहमा खोज्नुपर्छ वा समुद्र मुनी भन्नेबारे थाहा छैन। यो दुवै ठाउँमा हुन सक्छ। पनडुब्बी यी दुईबीच हुने सम्भावना धेरै कम छ।’
पनडुब्बी क्याप कोडबाट करिब ९०० माइल टाढा समुद्रमा हराइरहेको छ, जहाँ समुद्रको गहिराइ करिब १३ हजार फिट रहेको छ। ग्रेगका अनुसार यदि पनडुब्बी समुद्रको सतहमा छ भने यसलाई भेट्टाउन धेरै गाह्रो छ, किनभने यो तैरनका लागि बनाइएको हो। यसका साथै पनडुब्बीको रङका कारण यसलाई आकाशबाट पनि देख्न सकिँदैन। पनडुब्बीले आफ्नो शक्ति गुमाएको हो भने यसले सिग्नल पठाउन सक्दैन र यस्तो अवस्थामा यसलाई भेट्न सजिलो काम होइन।
सबैभन्दा ठूलो समस्या भनेको पनडुब्बीमा बसेका यात्रुहरू आफैं बाहिर आउन सक्दैनन्, किनभने उनीहरू भित्र बाँधिएका हुन्छन्, त्यसैले उनीहरू भित्र फसेका छन्।
के हो पनडुब्बीबाट टाइटानिकको यात्रा?
आठ दिनको यो यात्राका लागि साढे दुई लाख डलरको टिकट बेचिएको छ। यस यात्रामा टाइटानिकको भग्नावशेष समुद्रमा ३८०० मिटर तल गएर हेर्न सकिन्छ। ओसनगेट कम्पनीको एक विज्ञापनअनुसार यो आठ दिनको यात्रा सामान्यबाट बाहिर निस्कने र केही असाधारण कुरा पत्ता लगाउने मौका हो। यो सानो पनडुब्बीमा एक पाइलट र तीन टिकट खरिद गर्ने अतिथि यात्रु छन्। उनीहरू बाहेक पनडुब्बीमा केही विज्ञ पनि छन्।
यो मिसन न्युफाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ। कम्पनीको वेबसाइटका अनुसार यसमा तीन वटा पनडुब्बीहरू छन्, जसमध्ये अहिले हराइरहेको टाइटनमा मात्र ३८ सय मिटर गहिराइमा जान सक्ने क्षमता छ। यो पनडुब्बीको तौल १० हजार ४३२ किलो छ र यो १३ हजार १०० फिट गहिराइसम्म जान सक्छ। यो पनडुब्बीमा पाकिस्तानी अर्बपति शाहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यापारी हमिस होर्डिङसहित पाँच जना सवार छन्।
पनडुब्बी खोज्नका लागि अन्तर्राष्ट्रिय निकाय पनि लागेका छन्। अमेरिकी कोस्ट गार्डका प्रवक्ताले उद्धार कार्य अत्यन्तै जटिल रहेको र पनडुब्बीको स्थान थाहा भए उद्धारमा आफ्नो सबै शक्ति खर्चने बताएका छन्। अमेरिकी होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टको मेमोलाई उद्धृत गर्दै पनडुब्बी गायब भएको स्थानबाट एक जोडदार विस्फोटको आवाज सुनिएको बताइएको छ।
टाइटानिक जहाज सन् १९१२ मा आफ्नो पहिलो यात्राकै क्रममा डुबेको थियो। यो आफ्नो समयको सबैभन्दा ठूलो जहाज थियो र निर्माता कम्पनीले यो कुनै हालतमा नडुब्ने बताएको थियो। तर, रातिको समयमा एउटा ठूलो हिउँको ढिस्कोमा ठोक्किएर यो भाँच्चियो र विस्तारै समुद्रमा बिलायो। टाइटनिकमा यात्रा गर्ने २२०० यात्रु र चालक दलका सदस्यमध्ये १५०० भन्दा बढीको ज्यान गएको थियो। जहाजको भग्नावशेष पहिलो पटक सन् १९८५ मा फेला परेको थियो।