काठमाडौं– जिप दुर्घटनामा परेर ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहप्रति विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन्। शव राखिएको स्थान धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्य, धनगढीका मेयर गोपाल हमाललगायतले श्रद्धाञ्जली अर्पण गरे। स्व. सिंहको शव श्रद्धाञ्जलीका लागि केही समय कर्भडहलमै राखिनेछ भने अन्त्येष्टिका लागि हेलिकप्टरमार्फत बझाङ लगिनेछ।
मंगलबार गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंहले सुपप्र०१००१झ ४८० नम्बरको गाडी दुर्घटनामा परेर ज्यान गुमाएका थिए। बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटना परेर मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको छ।
जोशी र भण्डारी खतरामुक्त
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहलपुुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राइन पोख्रेलले बताएका छन्।
उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको छ भने होस्मै रहेकाले बोल्न सक्ने अवस्थामा छन्। उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुवै जनाको पछाडीको भागको मेरुदण्डमा समस्या देखिएको डा. पोख्रेलले जानकारी दिए।
जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ। उनीहरु दुवैको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनै पनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा. पोख्रेलले बताए।
जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक हुन् भने भण्डारी अंगरक्षक हुन्।