आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आन्तरिक राजस्वका पूर्वडीजी शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना

आन्तरिक राजस्वका पूर्वडीजी शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो।

National life

महतलाई ९ वर्ष एक महिना र ढकाल र शर्मालाई ९-९ वर्ष कैद सुनाइएको छ। यस्तै इजलासले उनीहरूसँग चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना लिन भनेको छ। उनीहरूलाई उक्त इजलासले गत जेठ १८ गते दोषी ठहर गरिसकेकोमा आज कैद र जरिवाना सुनाइएको हो।

अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो।

९ वर्षअघि गठित आयोगले कर विवाद फर्छ्यौट गर्ने जिम्मेवारी पाएको थियो। अख्तियारको सुरू मुद्दा २० अर्ब ९८ करोड रुपैयाँ कर छुट दिने निर्णयबारे थियो। त्यसमध्ये  १० अर्ब दुई करोड रुपैयाँ नियम बमोजिम कर छुट दिएको निष्कर्ष अख्तियारले निकालेको थियो। बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ थियो।

अख्तियारले दुई वर्षअघि पनि उनीहरूविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने अर्को मुद्दा चलाएको थियो। उक्त मुद्दामा पनि कसुर कायम हुने ठहर विशेष अदालतले गरेको छ।

Shivam cement

 

प्रकाशित: Jun 20, 2023| 17:48 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्