आइतबार, असार ७, २०८३

पानी नपरेपछि कञ्चनपुरमा सुरु भएन रोपाइँ

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

वेदकोट- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए। रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिलो छन्।

National life

वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनी बताउँछन्। ‘गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन’, किसान चौधरीले भने, ‘सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ।’ उनी तीन बिघा जमिनमा धानखेती गर्छन्। धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाउँछन्।

बेदकोट नगरपालिका–४ का केशव बोहराको रोपाइँका लागि धानको ब्याड तयार भएको छ। तयार भएको ब्याड खडेरीले सुक्न थालेपछि उनी चिन्तित छन्। ‘वर्षा नहुँदा रोपाइँ सुरु भएको छैन, धानको ब्याड सुक्दै गएको छ’, उनले भने, ‘यस्तै रह्यो भने त कसरी रोपाइँ गर्ने?’

भीमदत्त नगरपालिका–११ भुजेलाका राजेश जोशी रोपाइँका लागि आकाशको पानीको पर्खाइमा छन्। ‘रोपाइँको सम्पूर्ण तयारी भइसक्यो, ब्याड पनि तयार छ’, उनले भने, ‘पानी नपर्दा ढिलाइ भइरहेको छ।’ धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ।

सुक्खा खडेरीका कारण धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकरी हरि जोशीले बताए। ‘सिँचाइको सुविधा भएको केही ठाउँतिर रोपाइँ सुरु भएको छ’, उनले भने, ‘अधिकांश किसानलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हुनाले सबैतिर रोपाइँ सुरु भएको छैन।’

Shivam cement

उनका अनुसार जिल्लामा अहिलेसम्म करिब दुई प्रतिशतमात्रै रोपाइँ भएको छ। नहर तथा बोरिङको सुविधा भएका केही ठाउँमा किसान रोपाइँ गरिरहेका छन्।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धानखेती गरिन्छ।

कृषकहरूले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गर्ने गरेका छन्। सिँचाइको अभावमा रोपाइँमा ढिलाइ हुँदा किसान चिन्तित बनेका छन्।

प्रकाशित: Jun 20, 2023| 22:31 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्