बिहीबार, साउन २८, २०८३

मेहेलेको पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

ताप्लेजुङ-  गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन्।

सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो। चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार जारी रहेको जानकारी दिए।

जिल्ला प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा–६ मेहेलेमा पहिरामा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ। गएको पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो। सोही पहिरामा परी  ४५ वर्षीय राजकुमार राई गग्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो। घाइते राईलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ।
 

प्रकाशित: Jun 20, 2023| 09:51 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्