आइतबार, असार ७, २०८३

सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

म्याग्दी- म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन्। गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो।

National life

सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घन्टामै पुग्न सकिने भएको मङ्गला–४ धापुङका उमेश विश्वकर्माले बताए। ‘यसअघि मङ्गलाको अर्मन–किमचौर हुँदै ताराखोला पुग्न चार घन्टा लाग्ने गरेको थियो’, उनले भने, ‘बीस किलोमिटर दूरीको सडक निर्माण भएपछि तातोपानीबाट दुई घन्टामै ताराखोला पुग्न सकिने भएको छ।’

ताराखोलाका बासिन्दालाई बागलुङको सदरमुकाम पुग्न पनि यो सडक छोटो र छिटो भएको छ। दुई पालिकाका करिब एक हजार घरधुरी यो सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन्। आवतजावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीका साथै अस्पताल पुग्न छिटो र सहज भएको धापुङका मनबहादुर थजालीले बताए।

सडकमा जिप, ट्र्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन्। तातोपानीबाट सिर्खुसम्मको सडक निर्माणमा चालु आर्थिक वर्षमा मङ्गला गाउँपालिका र गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले तीनवटा खण्डमा आयोजना सञ्चालन गरेका थिए।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख र मङ्गला गाउँपालिकाको १४ लाख अनुदानमा धापुङ–गुन्थाने–सिर्खु खण्डको दुई किलोमिटर पाँच सय मिटर मार्ग खोलिएको छ।

Shivam cement

न्यूखोला–एक्लेचिहान–महेश–धापुङ सडकअन्तर्गत करिब तीन सय मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको १० लाख र गाउँपाकिलाको १० लाख लगानी भएको छ।

प्रदेश सरकारबाट सडक स्तरोन्नतिका लागि थप १० लाख लगानी भएको उपभोक्ता समितिले जनाएको छ। यसैगरी पखेर–जल्केनी–टुनीडाँडा हुँदै महेश जोड्ने तीन किलोमिटर सडकको मार्ग निर्माण गर्न प्रदेश सरकारबाट २५ लाख लगानी भएको छ।

यस आयोजनाका लागि म्याग्दी क्षेत्र (२) बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १५ लाख थपिएको छ।

प्रकाशित: Jun 20, 2023| 10:22 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्