पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा सोमबार दुर्घटना भएको हो।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको छ। मृतक र घाइतेको पहिचान हुन सकेको छैन।
पाल्पामै डुबेर दुई जनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिर नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको गोरखपुरका ३४ वर्षीय विपिन दुसियाको मृत्यु भएको हो।
यस्तै रैनादेवी छहरा-८ जलुके झरना भन्ने स्थानमा रूपन्देहीका अर्का युवाको पनि डुबेर ज्यान गएको छ। मृत्यु हुनेमा सुद्धोदन-२ जहाड बस्ने २२ वर्षीय सन्जय चौधरी रहेका छन्।
साथीसँग पौडी खेल्न पुगेका चौधरी पौडी खेल्ने क्रममा झरनाको पोखरीमा डुबेकोमा साथीहरूले उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएका थिए। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो