काठमाडौं- बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पूर्वी पहाडी जिल्ला पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोली सवार नेपाली सेनाको हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण गरेको छ। संखुवासभाको तुम्लिङटारबाट आज दिउँसो पाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण गरेको हो।
यसअघि प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संखुवासभा पुगेका थिए।
त्यहाँ प्रधानमन्त्री प्रचण्डले बाढीपहिरो प्रभावितको उद्धार, राहत र बेपत्ताहरूको खोजीमा कुनै कन्जुस्याइँ नगर्न जिल्लाका सरकारी संयन्त्रहरूलाई निर्देशन दिए। त्यसपछि प्रचण्डसहितको टोली पाँचथरका लागि उडेको थियो।
शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण कोशी प्रदेशका चार जिल्लामा ठूलो धनजनको क्षति भएको छ।