आइतबार, असार ७, २०८३

चीनले भन्‍यो- ताइवानका मामिलामा कुनै सम्झौता गर्न सकिँदैन

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- चीनका विदेशमन्त्री किन गांगले ताइवानका मामिलामा कुनै सम्झौता गर्न नसिकने स्पष्ट पारेका छन्। चीन भ्रमणमा रहेका अमेरिकी समकक्षी एन्टोनी ब्लिंकनसँगको भेटमा उनले यस्तो बताएका हुन्। 

National life

चिनियाँमाथिको एकपक्षीय प्रतिबन्ध हटाउनुपर्ने, चिनियाँ विज्ञान-प्रविधिमाथिको आक्रमण रोक्‍नुपर्ने र चीनको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुन नहुने उनले बताएका छन।

विदेशमन्त्री एन्टोनी ब्लिंकनले आफ्ना चिनियाँ समकक्षीसँग खुलस्त कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। चीनका अधिकारीहरूसँगको दुई दिने बैठकको आरम्भमा उनले चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।

ब्लिंकनले कूटनीति र संवादका ढोकाहरू खुला राख्नुपर्ने आवश्यकतामा जोड दिएको विदेश मन्त्रालयले जारी गरेको एक वक्तव्यमा उल्लेख गरिएको छ। करिब पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञले चीन भ्रमण गरेको यो पहिलो पटक हो।

अमेरिकी आकासमा एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको उडानपछि करिब पाँच महिनाअघि ब्लिंकनको भ्रमण स्थगित गरिएको थियो। अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन्।

Shivam cement

चीनका विदेशमन्त्री गांगले ब्लिंकनलाई बेइजिङ अमेरिकासँग स्थिर र रचनात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहेको बताएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी अधिकारीहरूले चाहिँ वार्तामा उनी वाशिङ्टन भ्रमणका लागि सहमत भएको बताएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार किनले चीन-अमेरिका सम्बन्धका लागि ताइवान मामिला सबैभन्दा प्रमुख जोखिम भएको बताए र ताइवान मुद्दालाई चीनको मुख्य चासोका रूपमा वर्णन गरे। चीनले स्वशासित ताइवानलाई उसैको टुक्रिएको प्रान्तको रूपमा हेर्छ र अन्ततः त्यो बेइजिङको नियन्त्रणमा हुनेछ भन्ने ठान्छ। तर ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा फरक ठान्ने गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गतवर्ष चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए र त्यसलाई बेइजिङले निन्दा गरेको थियो।

 

प्रकाशित: Jun 19, 2023| 15:38 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्