प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार पुगेका छन्। गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई पनि लिएर तुम्लिङटार पुगेका प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका छन्। उनले अन्य स्वयंसेवी संघसंस्थालाई पनि उद्धार र राहतमा जुट्न अपिल गरे।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रिज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र आवासका लागि व्यवस्था मिलाउन आवश्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए। प्रधानमन्त्री आजै ताप्लेजुङ र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरी फर्कने कार्यक्रम छ।
शनिबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी कोशी प्रदेशका चार जिल्लामा गरी ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्।