आइतबार, असार ७, २०८३

मिटरबक्सबाट सल्किएको आगोले घर जल्यो, ३२ लाखको क्षति

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ। 

National life

घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद रु ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात लगायतका धनमाल पूर्णरूपमा जलेर नष्ट भएको हो। 

ढुङ्गामाटोले बनेको जस्तापानाको छाना रहेको मगर परिवारको घरमा भएको आगलागीमा रु ३२ लाखभन्दा बढीको धनमाल पूर्णरूपमा जलेर क्षति भएको घटनास्थलमा पुगेका प्रहरी चौकी तालकर्खका प्रमुख प्रहरी सहायक निरीक्षक शिव निरौलाले जानकारी दिए। मगर घरमा भएको आगलागीको घटना दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुनबाट जोगिएको प्रहरीले जनाएको छ। 

मगरको घरमा लागेको आगो साँझ ७ बजेतिर मात्र नियन्त्रणमा लिन सफल भएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिए। “दिउँसो करिब दुई बजेको समयमा मिटरबक्सबाट आगो लाग्न सुरु भएको रहेछ, छरछिमेक जम्मा हुँदा आधाजति जलिसकेको थियो”, उनले भने, “दन्किरहेको आगो तत्कालै नियन्त्रण गर्ने कुनै उपकरण थिएन। घरायसी उपकरण प्रयोग गरेर तत्कालै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भयो।”

दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको बाँझोबारीस्थित नयाँबस्तीका मगरको घरमा लागेको आगो करिब पाँच घण्टापछि मात्र नियन्त्रणमा लिन सफल भएको स्थानीय समाजसेवी हर्कराज राईले जानकारी दिए। घरमा भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा प्रहरी चौकी तालखर्कका टोली पानीको गाग्री तथा घरेलु औजार हातमा लिएर घटनास्थल पुगेका थिए। 

Shivam cement

श्रीमान् श्रीमती दुई जना मात्रै बस्दै आएको मगर दम्पती घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि बिचल्लीमा परेको छ। खार्मीमा भएको आगलागी पीडित मगर परिवारलाई भोलि (सोमबार) जिल्ला विपद् व्यवस्थापन समितिका टोलीसहित घटनास्थलमै पुगेर राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए।

तत्कालका लागि व्यवस्थापन तथा संयोजन गर्न वडा कार्यालयलाई भनिएको नगरपालिकाले जनाएको छ। आगलागीका कारण घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका आगलागी पीडित मगर दम्पतीलाई तत्कालका लागि सोही स्थानका राजकुमार राईको घरमा खाने बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए।
 

प्रकाशित: Jun 19, 2023| 08:20 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्