मंगलबार, जेठ १२, २०८३

सडक कालोपत्रे भएपछि स्थानीय खुसी

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

धनकुटा– धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिले बजारबाट शहीदभूमि गाउँपालिका जाने सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका छन्। 

National life

धनकुटा र पाख्रिबास नगरपालिकाको पहुँच मार्गहुँदै गाउँपालिकाबाट भोजपुर र उदयपुर जोड्ने ३२ किलोमिटरमध्ये हिलेबाट थलथले बजारसम्मको १० किलोमिटर सडक यसै सातादेखि कालोपत्रे भइरहेको छ।

सडक सञ्जालले धनकुटा नगरपालिकाको वडा नं ९ र १०, पाख्रिबास नगरपालिकाको वडा नं ९ र १० र शहीदभूमि गाउँपालिकाको वडा नं १ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्। यहाँ आवागमन सहज हुनुका साथै यस क्षेत्रमा उत्पादन भएका कृषि सामाग्री बजारसम्म पुर्‍याउन सहज हुने स्थानीय बताउँछन्।

सुन्तलाको राजधानी भनेर चिनिने पालिकाको खोकुमा उत्पादन हुने सुन्तलालगायत  अदुवा, लिची, गोलभेडा तथा अन्य कृषि सामाग्रीको बजारिकरणमा सहयोग पुग्ने हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वा (तामाङ) ले बताएका छन्।

पाख्रिबास नगरपालिका–९ उत्तरपानीकी अम्बिका तामाङले सडक कालोपत्रेपछि  हिउँदमा धुलो र बर्खामा हिलोको समस्या अन्त्य हुने बताए। ‘पहिला हिउँदमा धुलोका स्वास्थ्यमा समेत असर गरेको थियो। सडक कालोपत्रे भएपछि हिलो, भुलोको समस्या अन्त्य हुनुका साथै आवागमनमा समेत सहज हुनेछ’, उनले भने।

Shivam cement

वडा नं १० चुनवाङ गाउँका ५२ वर्षीया कृष्ण खनालले सडक बनेपछि गाउँमा उत्पादित उपज बजार लान तथा बिरामी हुँदा समयमा नै अस्पताल जान सहज भएको सुनाए। ‘पहिला गाउँबाट ट्याक्टरमा गोलभेडा हिले बजार लैजाँदा फुटेर आधा मात्र पुग्थ्यो’, उनले भने ‘सडक सहज भएसँगै सानो गाडीबाट पनि तरकारी लान सहज भएको छ।’ धनकुटा नगरपालिका– १० का चन्द्र कार्कीले कालोपत्रे भएपछि बर्खामा बाटो बिग्रिएर यातायात नचल्ने समस्याबाट मुक्ति मिलेको बताए।

उक्त सडक जिल्ला, पालिका र अन्तर जिल्ला जोड्ने सडक मात्र नभइ तत्कालीन पञ्चायती शासन तथा भोकमरी विरुद्धको विसं २०३६ सालको आन्दोलनमा खाल्सा क्षेत्रका सहादत प्राप्त गर्ने १६ शहीदको सम्मानका लागि सुरु गरिएको पालिका अध्यक्ष मनोज राईले जानकारी दिए। ‘यो सडकले पालिकाको सामरिक र रणनीतिक महत्व बोकेको छ’, उनले भने ‘हामीले दशकौंँदेखि यही मुद्दा उठाउँदै आएका थियौँ।’

सडक कालोपत्रे भएसँगै पालिकाको तीव्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष राईले आशा व्यक्त गरे। सडक सञ्जालले स्थानीय कृषि उत्पादनको बजारीकरण गर्न, यहाँको प्रसिद्ध छिन्ताङदेवी मन्दिरको प्रवर्द्धन गर्न तथा पर्यटनको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ। उनका अनुसार कोशी प्रदेश सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजार बजेट विनियोजन भएको छ।

सडकको स्तरोन्नतिका लागि पहल गरेका कोशी प्रदेशका सांसद निरन राईले ३२ किलोमिटरमध्ये अहिले १० किमी र आगामी आर्थिक वर्षमा १५ किमी सडक स्तरोन्नति गरिने जानकारी दिए। ‘आफ्नो क्षेत्रका चार स्थानीय तहमध्ये कालोपत्रे सडक नभएका स्थानीय तह र शहीदको सम्मानका लागि शहीदभूमि गाउँपालिकाको कालोपत्रे सडक योजनालाई निरन्तरता दिइने छ’, उनले भने।

विसं २०७८ असोजमा रायमाझी आजद जेभी प्रालि काठमाडौँले विसं २०७९ चैत सम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि विसं २०८० पुस मसान्तसम्मका लागि समयावधि थप गरिएको जेभिका इन्जिनियर सुजन श्रेष्ठले जानकारी दिए।

हालसम्म ६७ प्रतिशत सडकको भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय भोजपुरका सुपरभाइजर डिल्लीराम विकले जानकारी दिए। 

यस सडकले शहीदभूमि गाउँपालिकालाई धनकुटा नगरपालिकाको हिले बजार तथा मध्यपहाडी लोकमार्गसँग अरुण, तमोर र दूधकोशी नदीको संगममा रहेको त्रिवेणीस्थित  भोजपुर, खोटाङ, उदयपुर र सुनसरी जिल्लासँग जोड्ने छ।

प्रकाशित: Jun 18, 2023| 20:49 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्