NadaNada
बिहीबार, भदौ ५, २०८२

भक्तपुरमा ट्राफिक सचेतना कक्षा सञ्चालन हुँदै

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

चितवन- ट्राफिक कारबाहीमा परेकाले जरिवाना तिरेर लिने सचेतना कक्षाका लागि अब काठमाडौंस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जानु नपर्ने भएको छ।

ट्राफिक नियम उल्लंघन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरममा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको, लेन अनुशासन उल्लंघन गरेको, तीव्र गति र रातोबत्ती उल्लंघन गरी कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टा सचेतना कक्षामा सहभागी गराउँदै आएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक राजु कार्कीले भने, ‘असार ३ गते आइतबार बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरलेले भक्तपुरमा सुरु हुने सचेतना कक्षाको उद्घाटन गर्नु हुनेछ। आइतबार उहाँकै उपस्थितिमा ट्राफिक कारबाहीमा परेका चालकलाई पहिलो सचेतना कक्षा सञ्चालन गरिनेछ।’

मादक पदार्थ सेवन गरेका बाहेक लेन अनुशासन, रातो बत्ती र तीव्र गतिका कारण कारबाहीमा पर्ने चालक अब जरिवाना तिर्न र सचेतना कक्षा लिन काठमाडौं जानु नपर्ने भन्दै उनले जरिवानालगायत सचेतना कक्षाको व्यवस्था ट्राफिक कार्यालय भक्तपुरमा गरिएको जानकारी दिए।

Metro Mart

मापसेमा परेकाका हकमा भने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ नै पुगेर सचेतना कक्षा लिनुपर्ने व्यवस्था कायमै रहेको प्रहरी निरीक्षक कार्कीले बताए।

प्रहरी निरीक्षक कार्कीले भने,‘भोलिदेखि मापसे बाहेकका ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना तिर्न र सचेतना कक्षा लिन भक्तपुरमै व्यवस्था गरिएको छ, यसले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने विश्वास लिएका छौँ।’

जिल्लाबाहिर कारबाहीमा परी सचेतना कक्षा लिनुपर्नेका हकमा पनि निकट भविष्यमै पायक पर्ने जिल्ला रोजेर कक्षा लिन पाइने व्यवस्था मिलाउने तयारी भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

प्रकाशित: Jun 18, 2023| 21:46 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्