बैतडी- बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ कैदीबन्दी छन्।
क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिए। उनले भने, ‘व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दीसम्म सुत्ने गरेका छन्,। शय्यामाथि शय्या जोडेर बसेका छन्। कारागारभित्र ठाउँ नभएर टेन्ट लगाएर राखेका छौँ, पानी पर्दा समस्या हुने गरेको छ। तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको जोखिम पनि बढेको छ।’
एकातिर कोठा अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको छ। कैदीबन्दीलाई शौचालय प्रयोग, सरसफाइको लागि समेत समस्या हुने गरेको छ। दशकौं पुरानो जीर्ण कारागार भवन पुनः निर्माण नहुँदा यहाँ सुरक्षा चुनौती थपिएको छ। विसं २०४० मा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो।
‘जीर्ण भवन रहेको र कोठा पनि कम भएकाले समस्या झेल्नुपरेको छ। जेलर आवास गृह, सुरक्षा ब्यारेक पनि छैन’, भण्डारीले भने–’जेलरले २४सै घण्टा बस्नुपर्ने भए पनि आवास गृह छैन्, सुरक्षा ब्यारेक बनेको छैन्। दिउँसो स्वास्थ्यकर्मी र राति सुरक्षाकर्मी बस्ने गरेका छन्।’
कुनै कैदीबन्दीका आमाबुबा बितेर किरिया गर्नुपरे पनि छुट्टै व्यवस्थासमेत नभएको बताइएको छ। बिजुली र सिसिटिभी बेलाबेला बिग्रिरहने र त्यसको मर्मतका लागि बजेट नहुँदा समस्या हुने गरेको भण्डारीले बताए।
अनुगमन तथा निरीक्षणका लागि सरोकारवाला निकाय आउने र हेरेर जाने भए पनि समस्या भने जस्ताको त्यस्तै रहेको छ। नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई जानकारी गराए पनि कहिले बन्ने टुंगो छैन।