आइतबार, असार ७, २०८३

ताप्लेजुङमा पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी तीव्र

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

ताप्लेजुङ- ताप्लेजुङमा शनिबार राति गएको पहिरोले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो।

National life

निरन्तरको वर्षासँगै गए राति गएको पहिरोले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन्। मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन्।

यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिरोले बगाएर बेपत्ता भएको छ।  बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ। 

यता वर्षाको क्रम निरन्तर रहेकाले पहिरोले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए। यद्यपि मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताए। 

यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ–ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ। स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङसहितको तीन घर पहिरोले बगाएको छ। त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहेका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिए।

Shivam cement

यस्तै सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ। स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिरोको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन्।

त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन्। दोभान बजारका स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ। मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घर पहिरोको जोखिममा परेका स्थानीयले बताएका छन्। ताप्लेजुङको सदरमुकामसहित धरै क्षेत्रमा विद्युत्समेत अवरुद्ध भएको छ।
 
जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिरोले क्षति गरेको प्रहरीले जानकारी दिएको छ। वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिराले जनधनको क्षति पुर्याउन थालेको छ। 

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताए। उनले स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि जानकारी दिए। प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गरेका छन्। 

प्रकाशित: Jun 18, 2023| 09:44 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्