काठमाडौं- अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन्।
अमेरिका बस्दै आएका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै प्रोफाइल खोली पीडितसँग चिनजान गरेर अमेरिकाको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र त्यहाँ मासिक २ हजारदेखि ३ हजार डलरसम्मको जागिर लगाइदिने प्रलोभनमा नेपालमा रहेका निर्मला र अल्पामार्फत ठगेका थिए। ३६ जना पीडितको १ करोड ६१ लाख २० हजार रुपैयाँ रकम ठगी गरेको भन्ने जाहेरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले निर्मला र अल्पालाई पक्राउ गरेको हो ।
उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।