आइतबार, असार ७, २०८३

झरी पर्दा झस्किछन् मनाङबासी

दुई वर्षअघि दुई महिना निरन्तरको वर्षाका कारण सडक सञ्जाल विच्छेद हुँदा खाद्यान्न, खानेपानी, विद्युत् अभाव भोगेपछि झरीदेखि झस्किनुपर्ने बाध्यता।
 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

मनाङ– ‘प्रि–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ। लामो समय जोखिम र अभाव भोगेका मनाङबासी ठूलो वर्षा हुनासाथ झस्किन्छन्। दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेका हुन्। 

National life

सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत् अभाव भोगेका थिए। अहिले पनि त्यस बेलाको जस्तै हुन्छ कि भनेर ठूलो वर्षा हुनासाथ झस्कने गरेको नासो गाउँपालिका–५ धारापानीका कृष्ण गुरुङले बताए। ‘अलि ठूलो पानी परेपछि मन झसंग हुन्छ, फेरि पनि ठूलो पानी परे अभाव र घरबासविहीन हुनुपर्छ कि भन्ने लाग्छ,’ उनले भने। 

चामेका फुर्वा लामा लामो समयसम्म ठूलो वर्षा भयो भने मन आत्तिने सुनाउँछन्। उनी भन्छन्, ‘कहीँ आउजाउ गर्नसमेत गाह्रो हुन्छ, कहीँबाट सहज रुपमा सहयोग पाउन पनि समस्या हुन्छ।’ उनले जोखिमको सतर्कता अपनाउन सुझाव प्रशासनले दिइरहेको भन्दै विपद्लाई सामान्य रुपमा लिन नहुने बताए।

डुम्रे–बेंसीसहर–चामे सडकअन्तर्गत मनाङका विभिन्न स्थानमा सुक्खा पहिरा खसिरहेको हुन्छ। ‘यस सडक खण्डअन्तर्गत हुन सक्ने सुक्खा पहिरोका कारण बेलाबेलामा सडक अवरुद्ध हुने गर्छ’, नासो–५ का वडाध्यक्ष थुदेन लामाले भने, ‘समयानुकूल रुपमा समाधान गर्ने गरेका छौं।’ 

उनका अनुसार ११ जेठमा चट्टानसहितको सुक्खा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको थियो। बर्खायाम वा अन्य समय पनि यहाँको यात्रा सहज छैन। बर्खायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ। बर्खायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किने हुँदा मनाङबासी र पर्यटक आवतजावतमा समस्या हुने गरेको छ। 

Shivam cement

मनाङमा विकास निर्माणका काम गर्न सहज नभएको लामाले बताए। ‘बजेट विनियोजन भएर आए पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न सकस हुने गर्दछ। वर्षको तीनदेखि पाँच महिना मात्रै काम गर्न सकिन्छ’, उनले भने। मनाङ हिमाली जिल्ला भएकाले निरन्तर विकास निर्माणको काम गर्न सहज नहुने स्थानीय बताउँछन्।

प्रकाशित: Jun 17, 2023| 16:35 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्