भक्तपुर- तपाईं १८ वर्ष पुग्नुभयो? तपाईंले रक्तदान सुरु गर्नुभयो? बालिग अवस्था पार गरेर १८ वर्षको किशोरावस्थामा प्रवेश गरेसँगै रक्तदान गर्न किशोर किशोरीलाई अभिपे्ररित गर्ने उदेश्यले भक्तपुरमा बुधबारदेखि अभियान सुरु भएको छ।
विश्व रक्तदाता दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा तथा नेपाल स्वयंसेवी रक्तदाता समाजले संयुक्तरूपमा भक्तपुरमा आयोजना गरेको साइकल र्याली, रक्तदान तथा विविध कार्यक्रममा ‘प्रत्येक स्वस्थ युवा युवतीले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ’ भन्ने अभियान सुरु गरेको हो।
विशेष रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका १८ किशोरकिशोरीले पहिलो पटक रक्तदान गरेर यो अभियान सुरु गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुरका अध्यक्ष सुमित बालाले जानकारी दिए।
उनले कार्यक्रममा ३० जनाले रक्तदान गरेको बताए। उनका अनुसार प्रत्येक १८ वर्ष उमेर पुगेका किशोरकिशोरीले आफ्नो जन्मदिनको दिनमा रक्तदान गर्न प्रेरणा दिन अभियान सुरु गरिएको हो।
एक स्वस्थ व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्नसक्ने भएकाले युवा युवतीलाई रक्तदानमा आकर्षित गरे नेपालमै रगतको अभाव नहुने उनको भनाइ थियो।
त्यसैगरी दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको कार्यालयबाट साइकल यात्राको आयोजना गरिएको थियो। साइकल यात्राको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले उद्घाटन गरे।
रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले सुरु भएको साइकल यात्रा दूधपाटी, हाकुफो हिटी, ब्यासी, महालक्ष्मी, कमलविनायक, च्यामासिंह, दत्तात्रय, तौमढी, राम मन्दिर, सूर्यविनायक, चुनदेवी, सल्लाघारी, तीनकुने, चोंगा गणेश, सिद्धपोखरी हुँदै आठ किलोमिटरको यात्रा पार गर्दै दूधपाटी आएर समापन भएको थियो।
र्याली सम्पन्नपश्चात सुरु भएको सम्मान एवं दैनिक रगत सङ्कलन अभियान घोषणा कार्यक्रममा एक वर्षभरि रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्था र नियमित रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो।
त्यसअवसरमा एक सय ७४ पटक रक्तदान गर्नुभएका प्रेमसागर कर्माचार्यको रचना, सुमन सिंहको सङ्गीत संयोजन, मनराजा नकर्मीको सङ्गीत र रत्नशोभा महर्जन, सिर्जना श्रेष्ठ, प्रगति महरा बीना भट्टराई, नसना महर्जन, दुर्गा अधिकारी, काव्या आचार्य, खुसी थुलुङ, सानुबाबु महर्जन, शशिविक्रम थापा, मोहित श्रेष्ठ, बेनुप क्षत्री, भिषण राई, मीन गुरुङ, कर्ण मुखिया एवं पुष्पराज बरालको स्वर रहेको रक्तदातासम्बन्धी गीत प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले सार्वजनिक गरे।
कार्यक्रममा सांसद थापा र बागमती प्रदेशसभा सदस्य एवं रेडक्रसकर्मी किरण थापाले रक्तदान जीवन दान हो भन्ने भनाइलाई सबैले व्यवहारमै उतार्नसके मात्रै रगतको अभाव कहिल्यै नहुने बताए। यहाँका जनताले निःशुल्क रगत पाउने व्यवस्था नगरपालिकाले गरिदिँदा धेरै विपन्न परिवारलाई राहत पुगेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले अब आफूले मात्र होइन अरुलाई पनि रक्तदान गर्न अभिप्रेरित गरौँ भन्ने सन्देश देशभरि फैलाउनुपर्ने बताए।
रेडक्रस सोसाइटी भक्तपुर शाखाले अहिलेसम्म २९ हजार पिन्टभन्दा बढी रगत सङ्कलन गरेको र ५१ हजार पिन्टभन्दा बढी रगत वितरण गरेको बताउँदै रगत आवश्यक पर्दा बिरामीको आफन्तको पहिलो रोजाइ भक्तपुर पर्ने गरेको स्मरण गरे।
उनले रगत नपाए भक्तपुर जानु भन्ने अभियानलाई अहिलेसम्म पूरा गर्दै आएको उल्लेख गर्दै उनले रगतको माग अत्यधिक रहेको तर सङ्कलन कम रहेकाले यो अभियानलाई शतप्रतिशत उपलब्धिमा पुर्याउन प्रयास गरिरहेको र अहिले ५१ प्रतिशत पूरा गरेको बताए।
रक्तदाता संस्थाले वर्षमा कम्तीमा तीन पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरी अभियान चाल्नुपर्ने बताउँदै उनले रेडक्रसले दैनिक रगत सङ्कलन अभियान सञ्चालन गरेको जानकारी दिए।
उनले भक्तपुरबाट रगतको किनबेचको अवस्था अन्त्य गरेको बताउँदै अहिले उपत्यकाका तीन जिल्लासँगै धादिङ, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत सङ्कलन गरिरहेको जानकारी दिए।
बिरामीका लागि चिकित्सकले रगत आवश्यक छ भनेर लेखिदिनेबित्तिकै ठूलो तनावको अवस्था आउने भएकाले त्यस्तो तनाव नलिई भक्तपुरमा आउन उनले आह्वान गरे।