काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ। गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा–९ स्थित जोभो कदम्पा विद्यालयका चार जनामा देखिएको दादुरा नियन्त्रणमा आएको बताएका हुन्।
२४ जेठमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शंकास्पद देखिएका पाँच जनाको परीक्षणमा चार जनामा दादुरा भएको पुष्टि भएको थियो। ‘दादुरा देखिएपछि ती चार जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौं’, उनले भने, ‘अहिले उक्त क्षेत्रमा दादुरा प्रकोप नियन्त्रणमा रहेको छ । हामीले फैलिन दिएनौं।’
उनले उक्त विद्यालयका १५ वर्षमुनिका ४१९ जनालाई दादुराविरुद्धको खोप पनि दिइएको जानकारी दिए। विद्यालयक ५६० विद्याथीमा गरिएको परीक्षणमा ६३ जनामा दादुराजस्तै लक्षण र १६ जनामा बान्ता तथा ज्वरो आउने समस्या देखिएको थियो।
शाखाप्रमुख उपाध्यायले ती दादुराका शंकास्पद बिरामीलाई भिटामिन ‘ए’ खुवाइएको जानकारी दिए।