बिहीबार, साउन ७, २०८३

गर्मी बढेपछि दाङका विद्यालय बन्द

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

देउखुरी- दाङमा गर्मी बढेपछि विद्यालय बन्द गरिएका छन्। जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन्। तुलसीपुर उपमहानगरपालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाप्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए।

त्यस्तै, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका, राप्ती, गढवा, राजपुर लगायतका गाउँपालिकाभित्र रहेका सम्पूर्ण  सामुदायिक तथा संस्थागत विद्यालय पनि बन्द गरिएका छन्।

घोराही उपमहानगरपालिकाभित्रका निजी तथा संस्थागत विद्यालय जेठ २६ देखि ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको  उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ। त्यस्तै  देउखुरी क्षेत्रका चारवटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

राप्ती गाउँपालिकाले जेठ २४ देखि २६ गतेसम्म, गढवा गाउँपालिकाले जेठ २५ देखि २९ गतेसम्म, राजपुर गाउँपालिकाले जेठ २६ देखि जेठ ३० गतेसम्म र लमही नगरपालिकाले जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

यसैगरी शान्तिनगर गाउँपालिकाले जेठ २५ देखि ३० गतेसम्म विद्यालय बन्द गरेको छ। अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि गर्मीबाट बालबालिका जोगाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको सम्बन्धित पालिकाले जनाएका छन्।

प्रकाशित: Jun 09, 2023| 20:44 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्