चितवन- पशु चौपायामा देखिएको लम्पी स्किन रोगका कारण चितवन जिल्लामा ८० गाई भैँसी मरेका छन। लम्पी स्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ।
कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाई भैँसीमा लम्पी स्किनको संक्रमण देखिएको छ। संक्रमण भएकामध्ये ८० गाई भैँसी मरेका हुन्।
सातवटै पालिकामा लम्पीस्किन फैलिएको र राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको प्रमुख केसीले जानकारी दिए। उनका अनुसार राप्ती नगरपालिकामा एक हजार ४०५, कालिका नगरपालिकामा दुई सय ६५, खैरहनी नगरपालिकामा २०४ गाई भैँसीमा संक्रमण देखिएको छ।
भरतपुर महानगरपालिकामा दुई सय २५, रत्ननगर नगरपालिकामा एक सय १४, इच्छाकामना गाउपालिकमा नौ सय ५२, माडी नगरपालिकामा दुई सय ५३ पशुलाई लम्पी स्किनको संक्रमण देखिएको छ।
कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा चार/चार गाई भैँसी लम्पी स्किनको संक्रमणबाट मरेका छन्।
झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको संक्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने कार्यालयका पशु विकास अधिकृत डा.रामचन्द्र आचार्यले जानकारी दिए।
रोग लागेका गाई भैँसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने गाई वस्तुमा गर्भपतनको समस्या पनि देखिन सक्ने उनको भनाइ छ।
संक्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन डा.आचार्यले सुझाव दिए।
यस रोगको रोकथामा र न्यूनीकरणका लागि पशु सेवा विज्ञ केन्द्र चितवनले सातवटै पालिकामा जैविक सुरक्षासम्बन्धी कार्यक्रम, औषधी वितरण, खोप वितरण गरिरहेको छ।